ताप्लेजुङ- पछिल्लो समय ताप्लेजुङका हिमाल आरोहणमा आरोही र पर्यटकको उत्साह बढेको देखिएको छ।
फ्रान्सेली दुई नागरिकले गत असोज दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए। अन्नपूर्ण फुटहिल्स ट्रेक्स एण्ड एक्सपिडिसनका तेन्जी शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चार्ल्स इली वेद्रिन्स र निकोलस पाउल अरिस्टाइड छन्।
गतसाता चिलीका एक नागरिकले कञ्चनजंघा हिमालको काखमै रहेको पाथीभरा हिमालको सफल आरोहण गरेका थिए।
विश्वको ३२औँं अग्लो र नेपालको १५औँ अग्लो कुम्भकर्ण (फक्ताङलुङ) हिमाल आरोहण गर्नका लागि फ्रान्सका तीन नागरिक सो हिमालको आधार शिविर क्षेत्रमा पुगेको पर्यटन सहायक शेर्पाले बताए। सो हिमालको उचाइ ७ हजार ७१० मिटर उचाइ रहेको छ।
पछिल्लो वर्ष यहाँका हिमाल उत्साहका साथ आरोहण गर्न थालिएका छन्। गत वर्षको कात्तिकमा चारजना दक्षिण कोरियन नागरिकले ६ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु-५ हिमालको पहिलोपटक सफल आरोहण गरेका थिए।
गत वर्षको चैतमा शार्फु-४ हिमालमा पहिलोपटक आरोहण गरिएको थियो। चिलीका नागरिक हर्नान लील, पर्वतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले ६ हजार ४३३ मिटर उचाइका शार्फु-४ हिमालको पहिलो पटक आरोहण गर्न सफल भएका थिए।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार ३०० जना विदेशी पर्यटकले विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल क्षेत्र भ्रमण गरेका छन्। गत भदौ तेस्रो सातादेखि मङ्सिर १५ गतेसम्म कञ्चनजंघा भ्रमणको याम रहने शेर्पाले बताए।
पर्यटन विभागका अनुसार गत वर्षको याममा अर्थात् मार्च १ देखि अप्रिल २१ सम्ममा २६ जना पुरुष र १५ जना महिला गरी ४१ जनाले ८ हजार ५५६ मिटर उचाइको कञ्चनजंघा हिमालको चुचुरोमा सफलतापूर्वक आरोहण गरेका थिए। सो आरोहणबाट एक करोड ९७ हजार ४६० रुपैयाँ रोयल्टी संकलन भएको थियो। रासस
