बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

आइतबार, कात्तिक ९ २०८२
पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

आधार शिविरमा दुई वर्षअघिसम्म वसन्त याममा हेलिकप्टरमार्फत आरोहीहरू मात्र पुग्ने गर्दथे। पदमार्गमा रहेका होटलको क्षमताभन्दा बढी संख्यामा पाहुना आएकाले व्यवस्थापनमा समस्या भएको व्यवसायीले बताएका छन्।

म्याग्दी- अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ को भूगोलमा पर्छ।

समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दुरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको हो। पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा चालु शरद याममा नसोचेको सङ्ख्यामा पर्यटक आएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए।

'अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित भएर त्यहाँसम्म पुग्ने पदमार्ग तयार र प्रवर्द्धनका कार्यक्रमपछि यो याममा अपेक्षा गरेभन्दा धेरै पर्यटक आउनुभयो', उनले भने, 'युवापुस्ताको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको छ।'

दसैँलगत्तै आधार शिविरमा दैनिक दुई सयदेखि पाँचसय जनासम्म पर्यटक आइरहेका अध्यक्ष पुनले बताए। आधार शिविरमा दुई वर्षअघिसम्म वसन्त याममा हेलिकप्टरमार्फत आरोहीहरू मात्र पुग्ने गर्दथे। पदमार्गमा रहेका होटलको क्षमताभन्दा बढी संख्यामा पाहुना आएकाले व्यवस्थापनमा समस्या भएको व्यवसायीले बताएका छन्।

नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ। दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको शेर्पा अल्पाइन ट्रेकिङका पथप्रर्दशक लाक्पा आङवु शेर्पाले बताए।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ। दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ।

नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो। सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्सांकन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो।

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस र लुइस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो। आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ।

विसं २०७७ मा भएको अन्नपूर्ण महोत्सव र गत जेठमा अन्नपूर्ण आरोहणको हीरक जयन्तीले पदमार्ग, हिमाल र आधार शिविरको प्रचार गर्न सहयोग पुगेको छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालका सामग्री देखेर आधार शिविर घुम्न आएको काठमाडौंका सुदीप भट्टले बताए।

पदमार्गको प्रवेशविन्दुमा पर्ने नारच्याङमा सन् २०१२ आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरका बारेमा जानकारी गराएपछि स्थानीयवासीको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको अगुवा गुरुङले बताए। कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ। पर्यटन विभागका अनुसार हालसम्म पाँच सय ३६ जनाले अन्नपूर्ण हिमालको आरोहण गरेका छन्।

नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ। आधार शिविरमुनि समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल छ। आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ। पदयात्रीहरूले ताल र हिमाललाई पृष्ठभूमिमा पारेर डाँडैडाडाँ हिँडेको तस्बिर खिच्न र भिडियो बनाउँछन्।

एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी संकलन भएर बनेको प्राकृतिक हिमताल हो। अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकैपटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख विशेषता भएको बेनीकी सुष्मा खत्रीले बताइन्।

'वरपरका हिमाल र फेदीमा रहेको तालले मलाई मोहित र प्रफुल्लित बनायो', उनले भनिन्, 'यहाँको अलौकिक सौन्दर्यमा रमाउन पाउँदा सबै, दुःखकष्ट र तनाव भुलेर मनमा उमंग छाएको छ।'

आधार शिविरमा प्रथम ओहरण टोलीको अगुवा फ्रान्सका मौरिज हर्जोग, लुइस लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना र हालसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका पाँचसय ३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुला सङ्ग्रहालय पनि रहेको छ।

अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा फुतफुते झरनामा चिया, खाजा पसल सञ्चालनका लागि आश्रयस्थल भवन, शौचालय निर्माण र खानेपानी व्यवस्थापन गरेको थियो। हुमखोलामा खानेपानी र शौचालय निर्माण भएको छ।

गुफाफाँट र आधार शिविरमा एक-एकवटा शौचालय निर्माण भएको छ। हुमखोलादेखि साधीखर्कसम्मको पदमार्गमा ढुंगा बिछ्याउने, अप्ठ्यारो ठाउँको पदमार्गको डिलमा रेलिङ राखिएको छ। नारच्याङका बासिन्दाले गत वसन्तयामदेखि हुमखोला, फुतफुते, साधीखर्क, गुफाँफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर होटल सञ्चालन गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने भएकाले यहाँ स्थायी भौतिक संरचना बनाउन प्रक्रिया पूरा गरेर सरकारबाट अनुमति लिनुपर्छ। एक्यापले ५० जना पाहुना राख्नसक्ने अस्थायी संरचना बनाउन अनुमति दिएको तर चार, पाँच गुणा बढी पाहुना आएकाले टेन्ट र पालमुनि बसोबासको व्यवस्था मिलाउनुपरेको भुसकेतका होटल व्यवसायी माइकल पुनले बताए।

होटलहरु नहुँदा पदयात्री आफैले बन्दोबस्तीका सामान बोकेर जानुपर्ने समस्या थियो। हुमखोलादेखि माथि सञ्चार र विद्युत् सुविधाको अभाव छ। सञ्चार सुविधाको अभावमा लेक लागेर बिरामी भएका पर्यटकको उद्धार गर्न र पाहुनाको व्यवस्थापनमा समस्या भएको छ। बढ्दो पाहुनाको आगमनसँगै फोहर व्यवस्थापन पनि यहाँको अर्को चुनौती बनेको छ। पदमार्ग निर्माणलाई पूर्णता दिन र झोलुंगे पुलको स्तरोन्नति गर्नेुपर्ने आवश्यकता छ।

गत हप्ता अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका म्याग्दी क्षेत्र नं १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले पूर्वाधार निर्माणका साथै प्रवर्द्धनमा स्थानीय तह, एक्याप, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने बताए।

'छोटो दुरीमा र छिटो पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड तालको पर्यटनका हिसाबले प्रशस्त सम्भावना छ', उनले भने, 'सञ्चार र विद्युत् सुविधाको विस्तार, पदमार्गको स्तरोन्नति, फोहर व्यवस्थापन, झोलुंगे पुललगायत पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण र बजेट भित्र्याउन पहल गर्नेछु।' रासस


प्रकाशित : आइतबार, कात्तिक ९ २०८२१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend