म्याग्दी- म्याग्दीको बेनी-दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणबाङ-दरबाङ) खण्ड कालोपत्र गर्ने योजनाले ६ वर्षसम्म पनि पूर्णता पाएको छैन।
रणनीतिक महत्त्वको रूपमा रहेको उक्त खण्ड मंगला गाउँपालिका-२ रणबाङबाट मालिकाको केन्द्र दरबाङ सम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २२ करोड ५७ लाख नौ सय ३२ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो।
विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति ८७ प्रतिशत रहेको कार्यालयले जनाएको छ। सात किलोमिटर लामो सडकअन्तर्गत रणबाङ-तोलाबाङ खण्डमा तीन किलोमिटर ३०० मिटर दुरीमा डीबीएसडी प्रविधिको कालोपत्र सकिएको कार्यालयका प्रमुख विष्णु पौडेलले बताए। ढाडखर्क, दरबाङ बजारमा स्ट्रक्चर तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ।
म्याग्दीको लाइफलाइन मानिएको बेनी-दरबाङ सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा असहज भएको यातायात व्यवसायी अर्जुन आचार्यले बताए।
'रणबाङ-तोलाबाङ खण्डमा ठेक्का सम्झौता भएको पाँच वर्षपछि गत वर्ष कालोपत्र भएपनि तोलाबाङ-दरबाङ खण्डमा अधुरै छ', उनले भने, 'कालोपत्र नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै धुलोका कारण स्थानीयलाई सास्ती भएको छ।'
गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित यो सडक आयोजनामा ठेकेदारले निर्माण सामग्रीको व्यवस्थापन, मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक निर्माणमा ढिलाइ भएको स्थानीयवासीको गुनासो छ।
निर्माण कम्पनी बिरुवा-क्याराभानका सञ्चालक चन्द्र थकालीले नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट विनियोजन नहुनु, सम्झौतालगत्तै कोरोना महामारी, विपद्लगायतका कारणले ढिलाइ भएको बताए।
पहिरो प्रभावितबाहेक ठाउँमा सडक फराकिलो बनाएर नाली र पर्खाल निर्माण सकिएकाले चालु आर्थिक वर्षमा सम्पन्न गर्ने थकालीले बताए। गत आर्थिक वर्षमा एक करोड ५० लाख रूपैयाँ विनियोजन भएको यस योजनाका लागि प्रदेश सरकारले थप एक करोड ५० लाख रूपैयाँ रकमान्तर गरेर भुक्तानी गरेको थियो। चालु आवमा चार करोड रूपैयाँ विनियोजन भएको छ।
मंगला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दुरीको यो सडक विसं २०६३ मा मार्ग खुलेको थियो। बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले यसलाई रणनीति महत्वका रूपमा मानिएको हो।
बेनीबाट सिमसम्म १२ दशमलव पाँच किमी चार वर्षअघि कालोपत्र भएको थियो। सिम-पानाबगर खण्डको चार किमी २०८१ जेठमा काम सकिएको छ। गण्डकी प्रदेशसभाका सांसद रेशम जुग्जालीले सहजीरण र समन्वय गरेपनि निर्माण कम्पनीले विभिन्न बाहना बनाएर सडक कालोपत्र गर्न ढिलाइ गरेको बताए।
'आव २०८०/०८१ मा काम सम्पन्न गर्न पुग्ने गरी पाँच करोड रूपैयाँ विनियोजन गर्दा ठेकेदारले काम गरेन', उनले भने, 'गत वर्ष विनियोजन भएको बजेट नपुगेपछि रकमान्तर गरेर भुक्तानीको व्यवस्था मिलाएका थियौँ।'
यस वर्ष विनियोजन भएको बजेट अपुग भएमा थप बजेट व्यवस्थाका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले निर्माण व्यवसायीले अधुरा कामलाई छिटो पूर्णता दिनुपर्ने बताए। रासस
