काठमाडौंं- जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी काठमाडौं अनिश्चितकालका लागि सञ्चालन बन्द गर्ने घोषणा गरेको छ। आन्दोलनका क्रममा भदौ २३ र २४ गते होटल परिसरमा भएको तोडफोड र आगजनीका घटनाले संरचना, उपकरण र सुरक्षासम्बन्धी संयन्त्रमा ठूलो क्षति पुगेको भन्दै होटलले सम्पूर्ण व्यवसायिक सेवा स्थगित गरेको हो।
होटलका मानव संसाधन निर्देशक मोहम्मद युसुफ यामिनद्वारा जारी सूचनामा मर्मत तथा पुनर्निर्माणको जोखिम र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै होटलबाट प्रवाह हुँदै आएका सम्पूर्ण व्यवसायिक सेवा तत्कालका लागि बन्द गरिएको उल्लेख गरिएको छ। सूचनामा अर्को निर्देशन जारी नहुन्जेलसम्म होटलमा कार्यरत श्रमिकहरूलाई कार्यस्थलमा उपस्थित नहुन अनुरोध गरिएको छ।
होटल व्यवस्थापनले ट्रेड युनियनसँग छलफल गरी श्रमिकहरूको सुरक्षालाई प्राथमिकता दिने निर्णय गरेको जनाएको छ। मर्मत तथा पुनर्निर्माण कार्य पूरा भएपछि मात्रै होटल पुनः सञ्चालनमा ल्याइने होटलको भनाइ छ।
सन् २००० देखि सञ्चालनमा आएको हायात रिजेन्सी काठमाडौँ देशकै प्रतिष्ठित पाँचतारे होटलमध्ये एक हो। नेपाली कला, वास्तुकला र सांस्कृतिक सौन्दर्य झल्किने गरी तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको यो होटलमा ३०३ कोठा छन्। देशी–विदेशी पर्यटक, सरकारी पाहुना र अन्तर्राष्ट्रिय सम्मेलनका लागि यो होटल लामो समयदेखि प्रमुख गन्तव्य बन्दै आएको छ।
होटलले करिब ५०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। आर्थिक वर्ष २०७९/८० मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने होटलका रूपमा आन्तरिक राजस्व विभागले हायात रिजेन्सीलाई सम्मान गरेको थियो।
यसअघि पनि आर्थिक वर्ष २०७१/७२, २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ मा हायात रिजेन्सीले पर्यटन क्षेत्रको उत्कृष्ट करदाता पुरस्कार पाइसकेको छ। नेपाल सरकारले पनि यस होटललाई विदेशी मुद्रा संकलनमा उच्च योगदान पुर्याएको भन्दै २०७६ सालमा विशेष सम्मान गरेको थियो।
दश वर्षे सशस्त्र द्वन्द्व सुरु हुनुअघि परिकल्पना गरिएको हायात होटल द्वन्द्व उत्कर्षमा पुगेको समयमा सन् २००० मा सञ्चालनमा आएको थियो। राजनीतिक अस्थिरता र आर्थिक चुनौतीका कारण केही वर्ष घाटामा चलाए पनि शान्ति स्थापनापछि छोटो अवधिमै नाफामा फर्किएको थियो।
नेपालको उच्चस्तरीय आतिथ्य सेवा र ‘हाइ इन्ड’ पर्यटक आकर्षणमा अग्रस्थानमा रहेको हायात रिजेन्सीको अनिश्चितकालीन बन्दले पर्यटन उद्योगमा गम्भीर असर पर्ने आशंका गरिएको छ।
