बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारीका लागि रुट कायम

मंगलबार, कात्तिक ४ २०८२
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारीका लागि रुट कायम

बर्सातको मौसम हटेसँगै सातदिन अघिदेखि नै पर्यटकका लागि जंगल सफारी गर्न निकुञ्ज खुला गरिएको हो।

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जंगल सफारी रुट कायम गरेको छ। बर्सातको मौसम हटेसँगै सातदिन अघिदेखि नै पर्यटकका लागि जंगल सफारी गर्न निकुञ्ज खुला गरिएको हो।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीका अनुसार पर्यटक प्रवेशका लागि रुट कायम गरिएको हो। निकुञ्जको मुख्य आकर्षण मानिने शुक्लाफाँटा घाँसेमैदानका भित्री फाँटमा वर्षाको पानी अझै जमिरहेकाले सो क्षेत्रमा हालका लागि सवारी साधन आवतजावतमा गर्न कठिनाइ हुने भएकाले रुट कायम गरिएको छ।

आन्तरिक तथा बाह्य पर्यटकको सहज प्रवेशका लागि रुट सञ्चालनमा ल्याएको उनले जानकारी दिए। चौधरीका अनुसार मझगाउँ-बर्कौला-शुक्लाफाँटा-सिंहपुर-रानीताल-बाबाताल हुँदै पुनःमझगाउँसम्मको रुट पर्यटकका लागि कायम गरिएको छ। बाबातालबाट पनि प्रवेश गरी मझगाउँ पुग्नसक्ने व्यवस्था गरिएको छ।

'यी दुवै रुट पुरानै हुन्', निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले भने, 'मुख्य रुटमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्थामा छन्, घाँसेमैदानभित्रका फाँटहरूमा अहिले पनि पानी जमेको भएकाले हालका लागि गाडी प्रवेश गराउन सकिने अवस्था छैन।'

निर्धारित रुटमार्फत पर्यटकले घना जंगल, वन्यजन्तु र प्राकृतिक दृश्यको अवलोकन गर्न सक्ने उनले बताए।

निकुञ्जमा अहिले चितुवा, हात्ती, बाघ, गैँडा, हरिण, मृग, नीलगाई र विभिन्न प्रजातिका चरा अवलोकन गर्न सकिन्छ। साथै, शुक्लाफाँटाको विशेषता मानिने घाँसेमैदान, बाबाताल, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, रानी ताल र बर्कौला क्षेत्र निकुञ्जभित्रका मुख्य पर्यटकीय आकर्षणका बिन्दु हुन्।

सूचना अधिकारी वाग्लेका अनुसार वर्षाको पानी सुकेपछि शुक्लाफाँटाका घाँसेमैदानभित्रका सडक पुनःपर्यटकका लागि सफारी सञ्चालन गरिनेछ। 'हाल पर्यटकको सहज आवागमनलाई प्राथमिकता दिँदै रुट सीमित गरिएको हो', उनले भने, 'पानी सुकेपछि पूर्ववर्ती रुपमै सफारी सञ्चालन हुनेछ।'

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालको पश्चिमी भूभागमा अवस्थित एकमात्र घाँसेमैदानयुक्त निकुञ्जका रूपमा रहेको छ। जहाँ विश्वकै दुर्लभ स्वाम्प डियर (बाह्रसिङ्गा) को महत्वपूर्ण बासस्थान मानिने उनले जानकारी दिए। तीनसय पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक ४ २०८२११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend