काठमाडौं- तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार ६५० मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६:५० बजे रेकर्ड गरिएको यो माग अहिलेसम्मकै उच्च स्तरको हो।
गत वर्ष १६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिन देशभित्रको पिक डिमाण्ड एक हजार ६०२ मेगावाट थियो। यसवर्षको माग गत वर्षको तुलनामा ४८ मेगावाट बढी हो।
प्राधिकरणका अनुसार तिहारको समयमा उद्योग र कलकारखाना बन्द हुने भएकाले यो पिक डिमाण्ड औद्योगिक ग्राहकबाहेकको हो। लक्ष्मीपूजाको दिन देशभित्रैका जलविद्युत् योजनाबाट उत्पादन भएको विद्युत्को माध्यमबाट सम्पूर्ण माग पूरा गरिएको प्राधिकरणले जनाएको छ।
देशभित्रको माग पूरा गरेपछि बढी भएको विद्युत् भारततर्फ निर्यात गरिएको छ। प्राधिकरणका अनुसार लक्ष्मीपूजाको साँझ पिक समयमा १ हजार १५ मेगावाट विद्युत् भारततर्फ पठाइएको थियो। गत वर्ष सोही समयमा २५३ मेगावाट मात्र निर्यात गरिएको थियो।
यसरी देशभित्रको माग र निर्यात जोड्दा लक्ष्मीपूजाको दिन प्रणालीको समग्र विद्युत् पिक डिमाण्ड २ हजार ६६५ मेगावाट पुगेको छ, जुन गत वर्षको एक हजार ८५५ मेगावाटको तुलनामा झण्डै ८१० मेगावाटले बढी हो।
काठमाडौँ उपत्यकामा मात्रै यस वर्ष लक्ष्मीपूजाको दिन ६:५० बजे ६५० मेगावाट विद्युत् माग रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ। गत वर्ष उपत्यकाको पिक डिमाण्ड ३९० मेगावाट थियो।
