बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

आइतबार, कात्तिक २ २०८२
पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

वर्षायाम सकिएसँगै पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ। सोही अवसरमा गरिएको हाइलाइन हेर्न पनि सयौँ पर्यटक सहभागी भएका थिए।

पर्वत- साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ।

जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले सञ्चालन गरेको विश्वकै अग्लो बञ्जी पुल र ‘द हार्नेस’ प्रालीले सञ्चालन गरेको विश्वकै लामो ‘सुपरम्यान’ शैलीको जिपलाइनलाई जोडेर मुदुकमा पहिलोपटक अग्लो र लामो दुरीमा हाइलाइनको अभ्यास गरिएको हो।

हाइलाइन मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेलका रूपमा मानिन्छ। कालीगण्डकी खोँचमा ४०८ मिटर लामो र २२८ मिटरको उचाइमा पहिलोपटक हाइलाइनको परीक्षण सफल भएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए।

हाल जर्मनीमा बसोबास गर्दै आएका धनकुटाको हिलेका शंकर कोइरालाले लामो समयदेखिको गहन योजनाका रूपमा यो कार्यक्रम गरेका हुन्। कोइरालाले १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएको बताउँदै लामो प्रयासपछि पर्वतमा पनि यो सम्भव भएको उल्लेख गरे। 

साहसिक पर्यटन प्रवर्द्धनको उद्देश्यले कोइरालाको संयोजनमा नेपालमा हाइलाइनको यस्तो प्रयास हुनु पर्यटकका लागि नयाँ खेलका रूपमा स्थापित हुने क्लिफका अध्यक्ष कार्कीले विश्वास व्यक्त गरे।

पहिलोपटक गरिएको हाइलाइनको क्रु सदस्यमा कोइरालासहित तीनजना नेपाली र तीन विदेशी छन्। गत असोज २९ गतेदेखि सुरु भएको हाइलाइन कार्यक्रम शनिबार सकिएको छ। नेपाल स्ल्याकलाइन कम्युनिटी र लोकप्रिय एड्भेञ्चर हब ‘द क्लिफ’को सहकार्यमा यो हाइलाइन आयोजना गरिएको हो।

क्लिफका अध्यक्ष कार्कीका अनुसार नेपालमा पहिलोपटक यति उचाइमा हाइलाइन गरिएको हो। 'यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ', उनले भने।

नेपाल स्ल्याकलाइन कम्युनिटीका सदस्यको अनुभव र युरोपेली प्रशिक्षकको सहयोगमा यो परियोजना अघि बढाइएको कोइराला बताए। उनका अनुसार खेल हेर्दा डरलाग्दो देखिए पनि पूर्णरूपमा सुरक्षा मापदण्ड अपनाइएको थियो।

'हाइलाइन २० मिटरबाट सयौँ मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो। सन्तुलनका लागि गहिरो ध्यान, स्थिर नजर र श्वास नियन्त्रण अत्यावश्यक हुन्छ', उनले भने।

वर्षायाम सकिएसँगै पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ। सोही अवसरमा गरिएको हाइलाइन हेर्न पनि सयौँ पर्यटक सहभागी भएका थिए। यसबाहेक जिपनलाइन, बञ्जी, स्वीङ, स्काइसाइक्लिङ, मेगाट्रोल, पिङ, रक क्लाइम्बिङ, र्‍याफ्टिङका लागि पर्यटकको आकर्षण बढ्दै गएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक २ २०८२१४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend