बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

आइतबार, कात्तिक २ २०८२
पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

गोल्टाकुरीबाट पाँच किलोमिटर पैदल हिँडेपछि राजाकोट पुग्न सकिन्छ।

दाङ- जिल्लाको दंगीशरण गाउँपालिका-२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण बन्दै गएको छ।

यहाँबाट दाङका सम्पूर्ण भूभागसहित सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रेसहितका विभिन्न हिमालहरू देखिने भएकाले पनि पर्यटक आउन थालेका छन्। त्यतिमात्र होइन, राजाकोटबाट बबई, राप्ती नदी, बाँकेका विभिन्न भूभागको अवलोकन पनि गर्न सकिन्छ।

पछिल्लो समय राजाकोटलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालिएको दंगीशरण-२ गोल्टाकुरीका प्रकाश डाँगीले बताए। 'यो क्षेत्र अवलोकनका हिसाबले रमणीय ठाउँ हो, त्यसैले पनि यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिन्छ', उनले भने।

राजाकोट दंगीशरण राजाले औलो लाग्दा बस्ने गरेको ठाउँका रूपमा रहेको स्थानीय चक्रमिलन विश्वकर्माले बताए। उनका अनुसार सोही ठाउँमा टेलिकमको पुरानो टावर पनि छ।

गोल्टाकुरीबाट पाँच किलोमिटर पैदल हिँडेपछि राजाकोट पुग्न सकिन्छ। नजिकै कुनैबेला हाटबजार जाँदा रुकुम, सल्यान, रोल्पाका नागरिकले प्रयोग गर्ने तिलकन्या नाका भएकाले पनि यो क्षेत्र पर्यटकीय हिसाबले उत्तम रहेको स्थानीय देवीराम कुसारीले बताए।

जहाँ विभिन्न स्थानका आन्तरिक पर्यटकले शनिबार हाइकिङसमेत गरेका थिए। गोल्टाकुरीबाट दुई घण्टामा पैदल हिँडेर त्यहाँ पुगेका थिए। सोही स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि पहल गर्ने दंगीशरण गाउँपालिकाका प्रवक्ता रमेश भण्डारीले बताए। रासस


प्रकाशित : आइतबार, कात्तिक २ २०८२११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend