काठमाडौं- विश्व बजारमा बिक्री हुँदै आइरहेको चिनियाँ विद्युतीय बस ब्रान्ड झोङटोङ नेपाल भित्रिने भएको छ। युरोप, अमेरिकासहित १ सयभन्दा बढी देशमा बिक्री हुँदै आएको झोङटोङ ब्रान्डका विद्युतीय बस टाइम्स मानसिरी प्रालिले नेपाल ल्याउने तय भएको हो।
सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीति लिएयता प्यासेन्जर कारदेखि माइक्रोबससम्म आयात हुँदै आइरहेका थिए। अब भने ठूला विद्युतीय बस आउनेक्रम पनि बढ्न थालेको छ। प्राथमिकतामा पर्नुपर्ने ठूला विद्युतीय बस आयात गर्न व्यवसायीहरु केन्द्रित हुन थालेका छन्।
टाइम्स मानसिरी प्रालिले साना माइक्रोबसको साटो सहर तथा लामो दुरीका लागि उपयुक्त हुने ठूला विद्युतीय बस ल्याउन झोङटोङ बस कम्पनीसँग हालै मात्र आधिकारिक बिक्रेता सम्झौता गरेको थियो। ठूला बस उत्पादनमा झोङटोङ चीनको अब्बल कम्पनीहरुमध्ये एक हो।
झोङटोङ बस १९५८ मा स्थापना भएको कम्पनी हो। कम्पनीले त्यसयता निरन्तर विभिन्न रेन्ज तथा इन्धनबाट चल्ने बस उत्पादन गर्दै आइरहेको छ। चीनको प्रसिद्ध एसडीएचआई ग्रुपको सदस्य रहेको झोङटोङ बसले उत्पादन गरेका ६ देखि १२ मिटरका लोफ्लोर सिटी बसदेखि लामो दुरीका विद्युतीय लक्जरी बसहरु अब नेपाली बजारमा उपलब्ध हुनेछन्।
१९७१ देखि विभिन्न क्षमताको बस उत्पादन गर्दै आएको झोङटोङ २००० मा पब्लिक लिस्टेड भएको थियो। वार्षिक उत्पादन क्षमता ३० हजारभन्दा धेरै रहेको झोङटोङले हालसम्म ३ लाखभन्दा बढी बस बिक्री गरिसकेको छ भने त्यसमा १ लाखभन्दा धेरै बस न्यु इनर्जीमा आधारित छन्।
झोङटोङ बसले १९ महत्वपूर्ण राष्ट्रिय तथा प्रदेश स्तरीय रिसर्च एन्ड डेभपमेन्ट परियोजनामा काम गरिसकेको छ। यही कम्पनीले नेसनल न्यु इनर्जी भेहिकल इनोभेसने प्रोजेक्सट अर्थात ‘८६३ प्रोग्राम’ सफलतापूर्वक गरेको थियो।
झोङटोङ बसले सिटी बस, लोमो दुरीका कोच बस, टुरिस्ट कोच, कर्पोरेट ट्रान्सपोर्ट भेहिकलसहित करिब १ सय ४० मोडलका बस उत्पादन गर्दै आएको छ। यसमा ५.५ मिटरदेखि २७ मिटर लामा बससम्म छन्।
कम्पनीले बस उत्पादनसँगै बिक्री पछिको सेवालाई उच्च प्राथमिकता दिँदै आएको छ। टाइम्स मानसिरीले पनि झोङटोङका बस नेपालमा ल्याएसँगै स्पेयर पार्टस तथा सर्भिसेन्टर निर्माण गरेर उपभोक्तालाई स्तरीय बिक्री पछिको सेवा दिनेगरी तयारी गरेको छ।
अबको केही महिनाभित्रै झोङटोङका ठूला विद्युतीय बस नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुनेछ। सुरुमा नेपालमा ६ मिटरदेखि १२ मिटर लामा सिटी बस र लामो दुरीका लागि उपयुक्त हुने बस आउने कम्पनीले जनाएको छ। बसको मूल्य, रेन्ज, ब्याट्री क्षमतालगायत बारेमा भने टाइम्स मानसिरीले बताइसकेको छैन।
टाइम्स मानसिरीले पायो ‘इमर्जिङ पार्टनर अवार्ड’
टाइम्स मानसिरी प्रालिले आधिकारि बिक्रेता नियुक्त भएको केही समयमै झोङटोङ बसबाट अवार्ड प्राप्त गर्न सफल भएको छ।
नेपालका लागि झोङटोङ बसको आधिकारिक बिक्रेता नियुक्त भएसँगै बजार विस्तार तथा अध्ययनमा पुर्याएको योगदानलाई कदर गर्दै झोङटोङ बसले २०२५ ग्लोबल पार्टनर कन्फ्रेन्सका अवसरमा टाइम्स मानसिरी प्रालिलाई इमर्जिङ पार्टनर अवार्डबाट सम्मानसमेत गरेको हो।
