काठमाडौं- करिब ६ महिनापछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान हुने भएको छ। थाइल्याण्डको थाई एयर एसियाले कात्तिक ९ गते (अक्टोबर २६) देखि बैंकक-भैरहवा-बैंकक रुटमा नियमित उडान सुरु गर्न अनुमति पाएको छ।
विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार थाई एयर एसियाले हप्तामा दुई दिन आइतबार र बुधबार सो रुटमा उडान सञ्चालन गर्नेछ। उनले भने, 'समर सेड्युल (अप्रिलदेखि अक्टोबर अन्त्यसम्म)मा कुनैपनि एयरलाइन्सले उडानका लागि तालिका नै माग गरेनन्, तर विन्टर सेड्युल (अक्टोबरपछि)का लागि भने चासो बढेको छ।'
तिवारीका अनुसार हाल थाई एयर एसियासहित दुई कम्पनीले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानमा चासो देखाएका छन्। कुवेतस्थित जजिरा एयरवेजसँग पनि पुनः उडान सुरु गर्नेबारे छलफल भइरहेको उनले जानकारी दिए।
कुवेतको जजिरा एयरवेजले २०७९ जेठमा बुद्धजयन्तीको अवसर पारेर विमानस्थल उद्घाटनका दिन पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो। त्यसयता जजिरा एयरवेज, फ्लाई दुबई (संयुक्त अरब इमिरेट्स) र थाई एयर एसियाले यो विमानस्थलबाट उडान गरेका थिए। तर विगत ६ महिनादेखि कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन।
थाई एयर एसियाले सन् २०२४ (२०८१ साउन) मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध विमानस्थल दुवैबाट उडान सञ्चालन गर्न अनुमति पाएको थियो। कम्पनीले हप्ताका सातै दिनका लागि अनुमति मागेको भए पनि नागरिक उड्डयन प्राधिकरणले चार उडानमात्र स्वीकृत गरेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका क्रममा गत वर्ष कात्तिक २३ गतेदेखि केही समयका लागि बन्द हुँदा जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले भैरहवाबाट वैकल्पिक उडान सञ्चालन गरेका थिए।
बुद्ध जयन्तीको अवसरमा उद्घाटन भएको साढे दुई वर्ष पुग्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले नियमित अन्तर्राष्ट्रिय उडान स्थायित्व कायम गर्न सकेको छैन। जाडोयामका लागि भने यो वर्ष केही एयरलाइन्स कम्पनीहरूले पुनः उडान तालिका स्वीकृत गराइसकेका छन् र अन्यले पनि तयारी थालिसकेको विमानस्थलले जनाएको छ।
