भोजपुर- यहाँको टेम्केमैयुङ गाउँपालिकाको खोङटाङ-हुँगे-चोलन्ती हुँदै खावा भञ्ज्याङ जोड्ने ग्रामीण सडक स्तरोन्नति गरिएको छ।
पहिले सवारीसाधन गुडाउन मुस्किल हुने उक्त सडक हाल ‘ग्राभेल’ भइ नाली र पर्खाल निर्माण भएसँगै सर्वसाधारणका लागि आवतजावत गर्न सहज बनेको छ। वर्षायाममा हिलो र हिउँदमा धुलो हुने यो सडक सुधार भएपछि गाउँलेको दैनिकी, आर्थिक गतिविधि र सेवासुविधा पहुँचमा सहज भएको हो।
सडक सुधारसँगै किसानहरूको उत्पादन बजारसम्म पुर्याउन, विद्यार्थीहरूलाई विद्यालय पुग्न र बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म जान सजिलो भएको छ। खोङटाङदेखि खावा भञ्ज्याङसम्म करिब नौ किलोमिटर सडक तीन करोड ५० लाख रूपैयाँमा स्तरोन्नति गरिएको हो। गाउँपालिकाको पहलमा संघीय सरकारको बजेटमा स्तरोन्नति गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।
यो सडक पश्चिमी गाउँपालिकाका बासिन्दालाई भोजपुर सदरमुकामसम्म जोड्ने प्रमुख मार्ग हो। सडक स्तरोन्नतिपछि स्थानीयवासीको दैनिकीमै परिवर्तन आएको स्थानीय रमेश विष्टले बताए।
'पहिले बिरामी, असक्त र ज्येष्ठ नागरिकलाई हिँड्नसमेत गाह्रो पर्थ्यो', उनले भने, 'अहिले गाडी सजिलै गुड्ने भएकाले ठूलो राहत भएको छ।' रासस
