काठमाडौं- नर्वे संसारको सबैभन्दा धेरै विद्युतीय कार बिक्री हुने देश हो। सरकारले विद्युतीय सवारीमा उल्लेख्य सहुलियत दिएको र वातावरणको मुद्दामा अग्रणि रहेको नर्वेमा पछिल्ला केही वर्षयतादेखि नै विद्युतीय सवारी बिक्री उल्लेख्य रहेको छ।
नयाँ बिक्री/दर्ता हुने सवारीमा विद्युतीयको हिस्सा गएको दुईतीन वर्षयता नर्वेमा ८० प्रतिशतभन्दा माथि रहँदै आएको छ। २०२५ लागेसँगै नयाँ दर्ता हुने कारमा विद्युतीयको हिस्सा ९० प्रतिशतभन्दा बढी पुगेको थियो। हालैका महिनाहरुमा नर्वेमा बिक्री हुने कारमा शतप्रतिशत नै विद्युतीय पुगेको हो। योसँगै नर्वेले शतप्रतिशत विद्युतीय कारमात्र बिक्री हुने अपेक्षासहित तय गरेको लक्ष्य पूरा गरेको छ।
अमेरिका, भारतलगायत देशहरुमा अहिले पनि विद्युतीय कारको बिक्री नगन्य संख्यामै रहेको छ। युरोपकै अन्य देशहरुले पनि नर्वेले झैँ सफलता पाउन सकेका छैनन्।
नेपालमा पनि विद्युतीय कारको बिक्री उल्लेख्य रहेको छ। पछिला केही महिनायता नेपालमा नयाँ बिक्री हुने कारमा विद्युतीयको हिस्सा ७० देखि ७५ प्रतिशत रहेको छ। तर विश्व मञ्चमा नेपालमा दरिलो उपस्थिति नभएका कारण उल्लेख्य विद्युतीय कार बिक्री भइकन पनि त्यसको मूल्यांकन हुन सकेको छैन।
युरोपेली देश नर्वेको भने संसारभर प्रशंसा भइरहेको र उसले पनि नयाँ दर्ता हुने कार शतप्रतिशत विद्युतीय हुने लक्ष्य पूरा गरेको छ। योसँगै नर्वेले विद्युतीय सवारीमा दिँदै आएको सहुलिय कटौती गर्ने संकेत दिएको छ।
नर्वेजीयन सरकारले ईभी रणनीतिमा नयाँ चरणको सुरुवात गर्ने बताएको छ। सरकारले विद्युतीय सवारीमा दिँदै आएको करलगायत सहुलियत पुनर्विचार गर्ने स्पष्ट संकेत गरिसकेको इलेक्ट्रिक डटकोले उल्लेख गरेको छ। नयाँ नीति कार्यान्वयनमा आएसँगै नर्वेमा विद्युतीय कार खरिद गर्नेहरुका लागि केही महँगो हुने अनुमान गरिएको छ।
आईसी इन्जिन कारकै बोलवाला हुँदाहुँदै नर्वेले अटोमोबाइलको विद्युतीकरणमा मारेको फड्कोले धेरैको ध्यान आकर्षित गरेको छ। त्यस्तै केही पुराना सवारी उत्पादक जायन्टहरुलाई पनि झस्काएको छ।
नर्वेले शतप्रतिशत ईभी बिक्रीको सफलता हात पार्नुमा उसले ल्याएको वृहत सहुलियत प्याकेज नै हो। यसमा खरिदमा लाग्ने कर तथा भ्याट सहुलियतदेखि ईभीलाई जुनसुकै सडकमा जुड्न पाउने छुटलगायत थिए। यही सहुलियतले नर्वेमा नयाँ कार खरिद गर्नेहरुलाई आकर्षित गरेको थियो।
२०२४ मा नर्वेमा दर्ताका भएका नयाँ कारमध्ये ८८.९ प्रतिशत हिस्सा विद्युतीयको थियो। २०२५ को मध्यतिर आइपुग्या यो ९५ देखि ९७ प्रतिशत पुगेको थियो। अर्थात नर्वेमा बिक्री हुने कुल नयाँ कार मध्य आईसी इन्जिनयुक्त कार एक/दुई सय वटामा सीमिति भएको थियो।
नर्वेका वित्त मन्त्री जेन्स स्टोलटेनवर्गले नयाँ बिक्री हुने कारमा विद्युतीयको हिस्सा शतप्रतिशत बनाउने लक्ष्य पूरा भएको घोषणा गरेको रोयटर्सले लेखेको छ। २०२५ भित्र नयाँ बिक्री हुने कारमा सबै विद्युतीय बनाउने लक्ष्य सरकारले लिएकोमा उक्त लक्ष्य पूरा भएको उनले बताएको रोयटर्सले जनाएको छ।
यसअघि नर्वे सरकारले ५ लाख क्रोनरसम्मका विद्युतीय कार खरिदमा सहुलियत दिँदै आएको थियो। हालै प्रस्तुत गरिएको बजेटमा अब ३ लाख क्रोनरसम्मका विद्युतीय कारलाई मात्र सहुलियत दिन प्रस्ताव गरिएको छ। यो प्रस्ताव २०२६ मा लागु हुने र २०२७ सम्ममा नर्वेले विद्युतीय सवारीमा दिइँदै आएको सहुलियत अन्त्य गर्ने बताएको छ।
