काठमाडौं- गएको साता भएका तीन कारोबारमा समग्रमा ८१.३२ अंकले घटेको सेयर बजार यो साता पनि उतारचढावबीच ९५ अंकले घटेको छ।
यो साता पहिलो कारोबारमा आइतबार ७८.८३ अंकले घटेको सेयर बजार दोस्रो दिन सोमबार ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा उक्लिएको थियो। मंगलबार पुन: १९.४४ अंकले बजार घटेकोमा बुधबार पनि २२.५८ अंकले ओरालोतिर नै लागेको थियो।
बिहीबार १८.४० अंकले घटेर बजार २४८७.१७ बिन्दुमा झरेको छ। ४५ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ। १९७ कम्पनीको सेयर मूल्य घटेको छ। ९ कम्पनीको मूल्य परिवर्तन भएको छैन।
गएको साताको अन्तिम कारोबारमा बिहीबार कारोबार सुरु भएको तीन मिनेटमा नै सकारात्मक सर्किट ब्रेक लागेको भए पनि बजारले अपेक्षाकृत उचाइ लिन सकेको थिएन। बिहीबार कारोबार सकिँदा बजार २२.५९ अंकले बढेर २५८२.१९ बिन्दुमा पुगेको थियो। त्यसअघि मंगलबार ५८.५५ र बुधबार ४५.३६ अंकले बजार घटेको थियो।
नयाँ चुनावी सरकार बनेकाले चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको छ।
सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको भए पनि लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। राजनीतिक अस्थिरता देखिँदा बजारले लय समात्न मुस्किल भइरहेको छ। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्तामा बजारप्रतिको विश्वास फर्कँदै जाने विश्लेषकहरूले बताइरहेका छन्। आउने साता पनि बजार उतारचढावकै अवस्थाबाट अघि बढ्ने उनीहरुको भनाइ छ।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।