काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट बचत खाताअन्तर्गत नेपालकै पहिलो 'डोर स्टेप बैंकिङ सर्भिस' सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको छ।
यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआइ बैकिङ सुविधा लिन चाहने ग्राहकहरुको लागि प्रत्यक्षरुपमा फाइदाजनक हुने बैंकको विश्वास छ।
अत्याधुनिक प्रविधिमा आधारित यस सेवाअन्तर्गत ग्राहकहरुले बैंकले प्रदान गर्ने विभिन्न सेवाहरु नगद जम्मा गर्ने, खाताबाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधाहरु आफ्नो घर वा कार्यालयमा बसेर प्राप्त गर्न सक्नेछन्। यो सुविधाहरु नि:शुल्क रुपमा प्रदान गरिएको छ।
ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत आवश्यक सेवा अनुरोध गर्न सक्ने र अनुरोध प्राप्त भएपश्चात बैंक प्रतिनिधिले अनुरोध गरिएको स्थानसम्म नै पुगेर उक्त सेवा प्रदान गर्ने बैंकले जनाएको छ। यसले डिजिटल बैंकिङको प्रर्वद्धन गर्दै बैंकिङ पहुँचलाई अझ सहज, सरल र प्रविधिमैत्री बनाइएको छ।
नेपाल राष्ट्र बैंकवाट स्वीकृति लिइ सुरुवात गरिएको यो सुविधा नेपालकै पहिलो 'डोर स्टेप बैंकिङ सर्भिस' भएको बैंकको भनाइ छ।
विश्वका केही विकसित देशहरुमा ग्राहकको घरमै पुगेर बैंकिङ सुविधा प्रदान गर्ने प्रचलन रहेता पनि नेपालको बैंकिङ इतिहासमा पहिलो भएको र कामना सेवाले यस्तो सुविधा ल्याएर नेपालको बैंकिङ क्षेत्रमा नविनतम सुविधाको थालनी गरेको बैंकका प्रमुख मार्केटिङ अधिकृत दीपेन्द्र सुवेदीले बताए।
प्रमुख मार्केटिङ अधिकृत सुवेदीका अनुसार बैंकले यो सुविधाले ग्राहकको सन्तुष्टिलाई मुख्य प्राथमिकता मान्दै डिजिटल प्रविधिमा आधारित सुविधास्वरुप 'डोर स्टेप बैंकिङ सर्भिस' को सुरुवात गरिएको हो, जसले ग्राहकहरुलाई समयको बचत, सहजता, सुरक्षाको पूर्ण अनुभूति गराउने छ।
यो सुविधा दैनिकरुपमा व्यस्त रहने व्यवसायी, कार्यालयका कर्मचारी, गृहिणी, ज्येष्ठ नागरिकहरुका लागि अत्यन्त उपयोगी हुने विश्वास बैंकले लिएको छ। ग्राहकको लामो लाइन, बैंकसम्म पुग्ने समय तथा कागजी झन्झट नलिइ घरमै बसेर बैंकका सुविधाहरु उपभोग गर्न सकिने छ।
यो सुविधाअन्तर्गत बैंकको लकर सुविधा, एटिएम डेबिट कार्ड, मोबाइल बैंकिङ सुविधासमेत नि:शुल्क रहेको छ।
हाल यो सुविधा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरुवात गरिएको र बिस्तारै देशैभर विस्तार गर्ने बैंकले जनाएको छ।