बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बुद्ध एयरका सञ्चालक बस्नेतको अग्रसरतामा नयाँ पार्टी दर्ता, उड्डयन क्षेत्रमा जस्तै मिल्ला सफलता?

बिहीबार , असोज ३० २०८२
बुद्ध एयरका सञ्चालक बस्नेतको अग्रसरतामा नयाँ पार्टी दर्ता, उड्डयन क्षेत्रमा जस्तै मिल्ला सफलता?

पार्टीको सबै तहमा चेतनशील, कर्मठ, समावेशी नेतृत्व हुने र २० प्रतिशतभन्दा कम मत पाएको खण्डमा सरकारमा नहुने पनि पार्टीको अवधारणापत्रमा उल्लेख छ।

काठमाडौं- नेपालको आन्तरिक उडानमा पहिलो बजार हिस्सा ओगट्दै सफलताको शिखरमा पुग्न सफल बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतको अग्रसरतामा नयाँ पार्टी दर्ता भएको छ। 

बस्नेत सदस्य रहेको 'गतिशील लोकतान्त्रिक पार्टी' दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। पार्टीको अध्यक्षमा दिनेश प्रसाईँ रहेका छन् भने महासचिवमा पियुष कायस्थ रहेका छन्। पार्टीको एकमात्रै सदस्यमा बस्नेत रहेका छन्।

बस्नेतले सञ्चालन गरेको बुद्ध एयर नागरिक उड्डयन क्षेत्रमा सफल एयरलाइन्स कम्पनी हो। आन्तरिक उडानमा १८ वटा जहाजमार्फत उडान गरिरहेको बुद्ध एयर यात्रु संख्या र आम्दानीका हिसाबले नम्बर एक कम्पनी हो। बुद्ध एयरले सेवा सुरु गरेको २८ वर्ष पुगिसकेको छ।

बुद्ध एयर हवाई सुरक्षामा मात्रै नभइ आर्थिकरुपमा समेत अब्बल कम्पनी  हो। बुद्ध एयरका मालिक बस्नेतले कृषिमा समेत लगानी गरेर काम गरिरहेका छन्। बस्नेतले नेपालमै उत्पादिन धानबाट चामलसमेत उत्पादन गर्दै आक्रामक बजार विस्तार गरिरहेका छन्। बस्नेतले आरजु ब्रान्डको लङ रेन्ज र लोकल प्रिमियम चामल उत्पादन गरिरहेका छन्।

उड्डयन क्षेत्रसँगै कृषि क्षेत्रमा समेत सफलता कमाइसकेका बस्नेत सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्। उनी सदस्य रहेको पार्टीको नारा 'सबै मिलौँ, देश बचाऊँ, देश बनाऊँ' रहेको छ। 'सबै नेपालीको प्रथम अधिकार रोजगारी' को लक्ष्यसहित राजनीतिमा प्रवेश गरेको बस्नेत बताउँछन्।

सबै नेपालीको प्रथम अधिकार रोजगारी हो। त्यो पनि दिगो रोजगारी प्रमुख हुने पार्टीको अवधारणापत्रमा उल्लेख छ। सरकारको पूर्ण कार्य भनेकै विकास, लगानी, राज्य व्यवस्थापन, नागरिकका लागि दिगो रोजगारी सिर्जना गर्ने हो र हरेक नागरिकलाई सिर्जनशील तथा रचनात्मक कार्यमा व्यस्त राख्ने वातावरण निर्माण गर्नका लागि राजनीतिमा प्रवेश गरेको बस्नेतको भनाइ छ।

अवधारणापत्रमा भनिएको छ, 'हामी नेपालको भविष्यप्रति चिन्तनशील आम नागरिक यसको समाधानका लागि पार्टी खोल्ने निष्कर्षमा आएका छौँ। राजनीतिमा होमिनु हाम्रो राष्ट्रप्रतिको चिन्ता हो, पेसा होइन। हामी विविधताको सुसंस्कृति र सामाञ्जस्यपूर्ण समाजका लागि बहुलताको राजनीतिक लिएर आएका छौँ। हाम्रा लागि सत्ता राज्यदोहनको साधन होइन। पार्टी र सरकारमा एक पद, एक व्यक्तिको अवधारणा सुरुदेखि नै लागु गरिनेछ। छोटो अवधिका लागि मन्त्री, प्रधानमन्त्री भएपनि दुई पटकभन्दा बढी प्रतिनिधित्व गर्न पाइने छैन। अर्थात् दुई कार्यकालपछि ऊ आफ्नो नियमित सामाजिक जीवनमा फर्किनैपर्छ।'

पार्टीको कुनै पनि सदस्य, एकै पदमा दुई कार्यकालको लागि मात्र बहाल रहन सक्नेछन्। पार्टीको जुनसुकै कार्यसमितिको पदमा सोह्र वर्षसम्म बहाल रहेपछि पार्टीको कुनै पनि कार्यसमितिको पदमा नियुक्त हुन नपाउने भनिएको छ।

पार्टी कार्यसमितिका पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुनेछन् भने सार्वजनिक पद मन्त्री, प्रधानमन्त्रीमा दुई पटकभन्दा बढी प्रतिनिधित्व गर्न नपाइने अवधारणापत्रमा उल्लेख छ।

पार्टीको हरेक गतिविधि खुल्ला सफ्टवेयरको माध्यमबाट निगरानी गर्ने, निकटको चुनावबाहेक आगामी चुनावहरुमा स्थानीयस्तरको सुरुवाती तहबाटै सबैको सहभागितामा उम्मेदवार छान्ने, देशको सबै भूगोलमा सुशासन, उद्यमशीलता र समताको प्रतिबद्धता गर्दै संघीय स्तरमा प्रत्येक एजेण्डामा महासचिवहरु र प्रदेश र पालिकामा सचिवहरु रहने भनिएको छ।

यसैगरी पार्टीको सबै तहमा चेतनशील, कर्मठ, समावेशी नेतृत्व हुने र २० प्रतिशतभन्दा कम मत पाएको खण्डमा सरकारमा नहुने पनि पार्टीको अवधारणापत्रमा उल्लेख छ।

यसैगरी, पार्टीले पारदर्शी हिसाबकिताब राख्ने जनाएको छ। पार्टीको आम्दानीको मुख्य स्रोत नै कार्यकर्ता, शुभेच्छुक एवं सर्वसाधारण जनताहरु हुन् अवधारणापत्रमा उल्लेख छ। प्राप्त रकम कम्प्युटरकृत प्रणालीबाट जम्मा गरिने र खर्च विवरण पनि वेबसाइटमा राखिनेसमेत पार्टीले जनाएको छ।

यस्तो छ पार्टीको आह्वान

अब समर्थ नेपाली मुकदर्शक भएर बस्नुहुँदैन। जोसँग सोच एवं सामर्थ्य छ, तिनीहरुले राष्ट्रलाई सही दिशातिर डोर्‍याउन अगाडि आउनुपर्छ। समुन्नत राष्ट्र निर्माणमा रोजगारी, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार अहम् विषय हुन्।

अबको सरकार पूर्ण पारदर्शी र भ्रष्टाचारप्रति शून्य सहनशील हुनेछ। राज्य सञ्चालनको अवधारणा हामीले बनाउन थालिसकेका छौँ। अब सबै तप्काका कार्ययोजनाहरु घोषणापत्रमा सार्वजनिक गर्दै जानेछौँ र बहसका लागि सबै पक्षलाई आह्वान गर्छौँ। जसले गर्दा चुनाव समापन हुनेबित्तिकै पहिलो दिनदेखि राष्ट्र सुशासन, समावेशी र समतामूलक समुन्नतीतिर लम्कने छ र दिगो रोजगारी सिर्जना हुनेछ।

सार्वजनिक संस्थानलाई जनमुखी सेवा प्रदायकरुपमा विकास गरिनुपर्छ। ति निकायहरुमा राजनीतिक नियुक्तिलाई निषेध गरिनुपर्छ। निजामति सेवाले सिर्जनशील र बजारको श्रेष्ठ प्रतिभालाई भित्र्याउन सक्नुपर्छ। अकर्मण्यता क्षम्य हुनुहुँदैन।

दिगो रोजगारी, समृद्धिका अभिन्न अंग शिक्षा, पर्यटन, कृषि र ऊर्जा हुन्। त्यसैगरी स्थानीय सरकार सञ्चालन र स्वास्थ्य सुविधा अत्यावश्यक आधारभूत सेवा हो। यससम्बन्धी सोच र विशेष कार्यक्रम हामी तिहारलगत्तै सार्वजनिक बहसका लागि ल्याउने छौँ। त्यसमा सहभागी हुन सबै पक्षलाई आह्वान गर्नेछौँ।

राष्ट्रमा विधिको शासन हुनुपर्छ। विधिको शासन सर्वसाधारणलाई मात्र नभइ राजनीतिक पार्टी, निजामती, कर्मचारी, व्यापारी एवं उच्च ओहदामा बस्ने सबैका लागि हो। त्यसैले यसको पालना अक्षरशः हुनुपर्छ। विधिको शासनमा आफूखुशी गर्ने तथा ऐन नियम पालना नगरेका विगतदेखि वर्तमान पुस्ता ‘बेबी वुमरदेखि जेनजी, जेन अल्फा तथा जेन बिटा’ सबैलाई समेटिनुपर्छ।

उद्योग र उद्यमशीलता अर्थतन्त्रका खम्बा हुन्। राष्ट्रलाई अग्रसरतातर्फ डोर्‍याउने सबैभन्दा छिटोछरितो माध्यम नै गतिशील अर्थतन्त्र हो। जोखिम उठाएर, सिर्जनशील भएर लगानी गरी देशमा स्वरोजगार हुने, रोजगारी सिर्जना गर्ने र राज्यलाई कर बुझाएर राज्य सञ्चालन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, विकास निर्माण आदि कार्य सम्भव बनाउने उद्यमशील व्यक्तिहरुलाई हामी प्रोत्साहन र सम्मान गर्छौँ।

हामी उनीहरुलाई पनि राजीतिमा आएर उद्यमशीलता प्रवर्द्धन गर्ने नीति निर्माणमा प्रत्यक्ष संलग्न हुन प्रेरित गर्छौँ। साथै, उद्यमीहरुको राजनीतिक सहभागिता निर्विवाद र सम्मानित बनाउन, नीतिगत भ्रष्टाचार र स्वार्थ बझान नहुने निश्चित गर्न आवश्यक नीति तथा कानून बनाउने छौँ।


प्रकाशित : बिहीबार , असोज ३० २०८२१४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend