काठमाडौं- वर्षौंदेखि ठप्प रहेका रुग्ण सिँचाइ ठेक्का तोड्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि गुलरिया-५ स्थित अमन कन्स्ट्रक्सन कम्पनीसँग गरिएको ठेक्का सम्झौता तोड्ने सूचना बिहीबार सार्वजनिक गरेको हो।
आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण र भवन मर्मतका लागि आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता गरेको थियो। तर सम्झौता भएपछि पनि काम अघि नबढेपछि आयोजनाले ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको हो।
बबई आयोजनाका ६ ठेक्कामध्ये चारको भौतिक प्रगति शून्य, एउटा ३० र अर्को ५५ प्रतिशत मात्रै रहेको आयोजनाले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई रुग्ण ठेक्का तोड्न निर्देशन दिएका थिए। त्यसैअनुसार आयोजनाले सूचना जारी गरेको हो।
आयोजनाले पटक-पटक सूचना प्रकाशित गरे पनि कम्पनीले सम्झौता बमोजिम काम सुरु नगरी बीचैमा छोडेको र म्याद सकिँदासम्म पनि कार्य सम्पन्न नगरेको बताइएको छ।
सम्झौता तोड्ने तयारीसँगै आयोजनाले १५ दिनभित्र ठोस कारणसहित स्पष्टीकरण दिन कम्पनीका आधिकारिक व्यक्तिलाई बोलाएको छ। तोकिएको समयमा प्रमाणसहित उपस्थित नभए वा स्पष्टीकरण असन्तोषजनक भए सम्झौता तथा सार्वजनिक खरिद ऐन अनुसार कार्यसम्पादन जमानत र धरौटी रकम जफत गरी कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
सिँचाइ विभागका अनुसार राष्ट्रिय गौरवका भेरी-बबई र सुनकोशी-मरिण बहुउद्देश्यीयसहित २५ सिँचाइ आयोजना रुग्ण सूचिमा परेका छन्। तीमध्ये ६ ठेक्का तोड्ने प्रक्रिया अहिले औपचारिक रूपमा सुरु गरिएको हो।
