बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आम्दानी निरन्तर घट्न थालेपछि विवरण लुकाउँदै निगमका कार्यकारी अध्यक्ष अधिकारी, पारदर्शितामा प्रश्नैप्रश्न

बिहीबार , असोज ३० २०८२
आम्दानी निरन्तर घट्न थालेपछि विवरण लुकाउँदै  निगमका कार्यकारी अध्यक्ष अधिकारी, पारदर्शितामा प्रश्नैप्रश्न

नेपाल वायुसेवा निगममा उडान आम्दानी निरन्तर घट्न थालेपछि कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक विवरण नै सार्वजनिक नगर्न निर्देशन दिएका छन्।

काठमाडौं- नेपाल वायुसेवा निगममा उडान आम्दानी निरन्तर घट्न थालेपछि कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक विवरण नै सार्वजनिक नगर्न निर्देशन दिएका छन्।

निगम स्रोतका अनुसार साउन महिनामा आम्दानीमा आएको ठूलो गिरावटपछि अधिकारीले दुई/दुई महिनामा प्रकाशित हुने नियमित प्रतिवेदन ‘आकाश भैरव’मा आम्दानी विवरण नै रोक्न आदेश दिएका हुन्।

निगमले विगत पाँच वर्षदेखि ‘आकाश भैरव’ नामक नियमित प्रकाशनमार्फत जहाज उडान, यात्रु संख्या र आम्दानी विवरण सार्वजनिक गर्दै आएको थियो तर पछिल्लो अंकमा साउन-भदौ महिनाको उडान आम्दानीसम्बन्धी तथ्यांक नै हटाइएको छ।

स्रोतका अनुसार मासिक दुई अर्ब रुपैयाँसम्म आम्दानी गर्ने निगमको आय अधिकारीको नेतृत्वमा निरन्तर घट्दै गएको छ। साउनमा आम्दानीमा तीव्र गिरावट आएको र भदौमा केही सुधार भए पनि समग्र नतिजा नकारात्मक रहेपछि उनले विवरण लुकाउन आदेश दिएका हुन्।

निगमका उच्च स्रोतले बताएअनुसार सञ्चारमाध्यमहरूले आकाश भैरवमा आधारित भएर समाचार लेख्न थालेपछि अधिकारीले अवकाशको तयारीमा रहँदै नयाँ सरकारबाट प्रश्न उठ्न सक्ने डरले प्रतिवेदन प्रकाशन नै रोक्न लगाएका हुन्।

निगमका प्रवक्ता सुवास डाँगीले भने जेनजी आन्दोलनका क्रममा केही कागजात जलेका र कम्प्युटर तोडफोड भएकाले 'प्राविधिक कारणले' प्रतिवेदन ढिलो भएको दाबी गरेका छन्।

अधिकारीको नेतृत्वमा निगमले २०७९ पछि न त महालेखा परीक्षकको कार्यालयमा वार्षिक आर्थिक प्रतिवेदन बुझाएको छ न विभागीय मन्त्रालयमा खर्च विवरण पेस गरेको छ। अर्थ मन्त्रालयले यस वर्ष सार्वजनिक गरेको संस्थागत आर्थिक विवरणमा नेपाल एयरलाइन्सलाई 'सबैभन्दा बढी घाटा बेहोर्ने संस्था'को रूपमा उल्लेख गरेको छ।

कोरोना महामारीपछि अधिकांश अन्तर्राष्ट्रिय एयरलाइन्सको आम्दानी सुधारिएको भए पनि नेपाल एयरलाइन्सको आम्दानी झन घटेको छ। निगमको ‘आकाश भैरव’ रिपोर्टअनुसार आव २०८१/८२ मा जहाज उडाएर जम्मा १५ अर्ब ३१ करोड रुपैयाँमात्र आम्दानी भएको छ। जुन अघिल्लो आवको तुलनामा घट्दो हो।

इन्जिन मर्मत खर्चले थप संकट

निगममा अब थप आर्थिक संकट देखिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग भइरहेका दुई वाइडबडी विमानका चारै इन्जिन मर्मतको समय नजिकिएको छ। एउटा इन्जिन मर्मतमा करिब १ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान छ। यसअनुसार चारै इन्जिन मर्मतका लागि करिब ७ अर्ब २० करोड रुपैयाँ चाहिनेछ।

निगमको हालको आम्दानीले यस्तो खर्च सम्भव छैन। बैंक तथा वित्तीय संस्थाहरूले पनि थप लगानी गर्न अस्वीकार गरिसकेका छन्। इन्जिन मर्मत ढिलाइ हुने निश्चित देखिएको छ।

स्रोतका अनुसार अध्यक्ष अधिकारी उडान कटौती गरेर भए पनि इन्जिन मर्मतको समय लम्ब्याउने खेलमा छन्। इन्जिन मर्मत अवधिमा वाइडबडी उडाउनका लागि इन्जिन भाडामा लिनुपर्ने अवस्था आएको छ, जसको दैनिक भाडा १५ देखि २० हजार अमेरिकी डलरसम्म पर्छ। निगमसँग यस्तो खर्चको स्रोत नभए पनि अधिकारीले कमिसनको सम्भावनाका लागि कम्पनी छनोटमा सेटिङको प्रयास गरिरहेको आरोप स्रोतको छ।

निगमभित्र बढ्दो अनियमितता र घट्दो पारदर्शिताले नेपाल एयरलाइन्स फेरि आर्थिक र विश्वसनीयताको गम्भीर संकटतर्फ धकेलिँदै गएको छ।

मुख्यसचिव एकनारायण अर्यालकी छोरीलाई नेपाल वायुसेवा निगममा सिधै नियुक्ति मुख्यसचिव एकनारायण अर्यालकी छोरीलाई नेपाल वायुसेवा निगममा सिधै नियुक्ति निगम कार्यकारी अध्यक्ष अधिकारीलाई प्रश्न - २०२४ को अप्रिलमा मर्मतका लागि इजरायल पठाएको न्यारोबडीको इन्जिन खोइ? निगम कार्यकारी अध्यक्ष अधिकारीलाई प्रश्न - २०२४ को अप्रिलमा मर्मतका लागि इजरायल पठाएको न्यारोबडीको इन्जिन खोइ?

 

(बिजनेस न्युज डटकमको यूट्युब च्यानलमा प्रकाशित भिडियोहरू हेर्न तथा सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। टिकटकफेसबुक र एक्समा पनि हाम्रा सामग्री हेर्न सकिन्छ।)


प्रकाशित : बिहीबार , असोज ३० २०८२०६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend