बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भोटेकोशी आयोजनामा निःशुल्क सेयर दिने सहमति नभएको स्पष्टीकरण

बुधबार, असोज २९ २०८२
भोटेकोशी आयोजनामा निःशुल्क सेयर दिने सहमति नभएको स्पष्टीकरण

विज्ञप्तिमा भनिएको छ, 'भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशीबीच निःशुल्क सेयर लिने-दिने सहमति भएको होइन।'

काठमाडौं- भोटेकोशी जलविद्युत आयोजनाको सेयर निःशुल्क दिने सहमति भएको भन्ने समाचारप्रति भोटेकोशी पावर कम्पनी प्रालि र भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले आपत्ति जनाउँदै संयुक्तरूपमा स्पष्टीकरण सार्वजनिक गरेका छन्।

दुवै कम्पनीले २०८२ असोज २६ गते जारी गरेको विज्ञप्तिमा हालका केही सञ्चार माध्यमहरूले प्रकाशन गरेको 'निःशुल्क सेयर दिने सहमति' सम्बन्धी समाचार तथ्यहीन रहेको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, 'भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशीबीच निःशुल्क सेयर लिने-दिने सहमति भएको होइन।'

कम्पनीका अनुसार भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले स्थानीय प्रभावित जनतालाई सेयरधनी बनाएपछि मात्रै भोटेकोशीले उक्त पब्लिक लिमिटेड कम्पनीलाई आयोजनाको १० प्रतिशत सेयर प्रतिसेयर अंकित मूल्य १०० रूपैयाँमा बिक्री गर्ने सहमति भएको हो।

उक्त सेयर खरिद गर्न आवश्यक पुँजी पब्लिक लिमिटेड कम्पनीले बैंक ऋणमार्फत जुटाउने र सो ऋणको लागि भोटेकोशीले जमानीको व्यवस्थामात्र मिलाउने उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'निर्माण सम्पन्न भइसकेको आयोजनाबाट वार्षिकरूपमा वितरण हुने लाभांशबाट १० प्रतिशत सेयरबापत पब्लिक लिमिटेड कम्पनीले पाउने रकम ऋण तथा ब्याज भुक्तानीका लागि प्रयोग गरिने सहमति भएको हो, जसलाई ‘निःशुल्क सेयर’ दिने सहमति भनेर भ्रम फैलाउनु गलत हो।'

कम्पनीहरूले सञ्चार माध्यम र सरोकारवाला निकायहरूलाई भ्रममा नपरी सत्य जानकारीमा आधारित समाचार प्रकाशित गर्न आग्रह गरेका छन्।


प्रकाशित : बुधबार, असोज २९ २०८२११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend