बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कोप्चे-बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन, भाडा ५ सय रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २९ २०८२
कोप्चे-बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन, भाडा ५ सय रुपैयाँ

कोप्चे-बराह क्षेत्रबीचको भाडा ५ सय र चतरा पुग्न ७ सय रुपैयाँ तोकिएको छ। जेटबोट सञ्चालनले बिरामी परेका नागरिकलाई सहरका ठूला अस्पतालसम्म छिटो पुर्‍याएर उपचार गर्न सहज भएको स्थानीय लालबहादुर प्रधानले बताए।

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म जलयात्रा अर्थात् मोटरबोट पुनः सञ्चालन भएको छ। 

नदीमा पानीको बहाव बढेसँगै गत असार महिनादेखि रोकिएको जलयात्रा अब पुनःसञ्चालनमा आएको हो। दक्षिणी क्षेत्रका स्थानीयका लागि अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ। हाल नदीको बहाव घटेसँगै जेटबोट सञ्चालन भएपछि यात्रुलाई सहजता मिलेको स्थानीय व्यवसायी मिलन राईले जानकारी दिए।

'नदीको बहाव घटेसँगै जलयात्रा पुनःसञ्चालन भएको छ', उनले भने, 'अहिले कोप्चेबाट बराह क्षेत्रसम्म बोट चल्न थालेको छ। पानी अझ कम भएमा चतरा पुलसम्म जलयात्रा सम्भव हुन्छ।'

दक्षिणी भेगका स्थानीय अब जेटबोट चढेर धरान, इटहरी, विराटनगरलगायतका सहरमा पुग्ने गरेका छन्। यसअघि तीन-चार घण्टा पैदल यात्रा गरेर चतरा पुग्नुपर्ने अवस्थामा अहिले करिब १९ किलोमिटर दूरी २०-२५ मिनेटमा पार गर्न सकिने भएको छ।

कोप्चे-बराह क्षेत्रबीचको भाडा ५ सय र चतरा पुग्न ७ सय रुपैयाँ तोकिएको छ। जेटबोट सञ्चालनले बिरामी परेका नागरिकलाई सहरका ठूला अस्पतालसम्म छिटो पुर्‍याएर उपचार गर्न सहज भएको स्थानीय लालबहादुर प्रधानले बताए।

'चाडपर्वको समयमा जेटबोट सञ्चालनले विशेष सुविधा भएको छ', उनले भने, 'भोजपुर सदरमुकाम हुँदै तराई पुग्दा करिब २०० किलोमिटर यात्रा गर्नुपथ्र्यो। अहिले जलमार्गले त्यही दुरी छोट्याइ दिएको छ।'

गाउँपालिकाले यस जलयात्रालाई पर्यटनसँग जोड्ने उद्देश्य राख्दै पूर्वाधार विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए। उनका अनुसार, जलयात्रा सञ्चालनले हतुवागढी क्षेत्र र तराईका जिल्लाबीचको दुरी घटाउने मात्र नभई स्थानीय पर्यटन र आर्थिक गतिविधिमा टेवा पुर्‍याउनेछ। रासस


प्रकाशित : बुधबार, असोज २९ २०८२१०:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend