काठमाडौं- सन् २०२५ जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा नेपालमा ८ लाख १५ हजार २ सय ७३ जना विदेशी पर्यटक आएका छन्। यो अघिल्लो वर्षको ८ लाख १६ हजार ६ सय ३३ भन्दा ०.२ प्रतिशतले कम हो। महामारीपूर्व २०१९ को तुलनामा यस अवधिमा ९८ प्रतिशत पुनः सुधार भएको देखिन्छ।
जनवरीदेखि सेप्टेम्बरसम्म दक्षिण एसिया (सार्क) क्षेत्रबाट सबैभन्दा बढी ३ लाख ८ हजार ४ सय ५१ जना (३८ प्रतिशत) पर्यटक आएका छन्। अन्य एसियाली देशबाट १ लाख ७४ हजार १ सय ६९ (२१.४ प्रतिशत), युरोपबाट १ लाख ३९ हजार ५ सय ४५ (१७.१ प्रतिशत), अमेरिकाबाट ९७ हजार ५२ (११.९ प्रतिशत), ओसियानियाबाट ३५ हजार ७ सय २५ (४.४ प्रतिशत) प्रतिशत, मध्यपूर्वबाट १४ हजार २ सय २५ (१.७ प्रतिशत) र अफ्रिकी मुलुकबाट ३ हजार ३६ जना (०.४ प्रतिशत) आएका छन्।
भारत अझै पनि नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत हो। सन् २०२५ जनवरी-सेप्टेम्बरमा भारतबाट २ लाख २६ हजार ५२ जना पर्यटक आएका छन्। चीनबाट ७२ हजार १ सय ७४, अमेरिका ८० हजार ६ सय ९९, बेलायतबाट ३८ हजार ५ सय ४३, अष्ट्रेलिया ३२ हजार ८ सय ७, श्रीलंकाबाट २६ हजार ६ सय २ र जर्मनीबाट १८ हजार ४ सय ७५ जना पर्यटक आएका छन्।
नेपालमा सन् २०२५ को सेप्टेम्बर महिनामा अन्तर्राष्ट्रिय पर्यटक आगमन घटेको छ। तथ्यांकअनुसार यस अवधिमा कुल ७८ हजार ७ सय ११ जना विदेशी पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको ९६ हजार ३ सय २ भन्दा १८.३ प्रतिशत कम हो। तर २०१९ को महामारीपूर्वको सेप्टेम्बरको तुलनामा ८५ प्रतिशत सुधार भएको देखिएको छ।
सेप्टेम्बर २०२५ मा भारतबाट आगमन १५ हजार ५ सय ५६ जनामा सीमित रह्यो, जुन अघिल्लो वर्षको तुलनामा ३२.३ प्रतिशत घटेको हो। चीनबाट आगमन पनि ३५ प्रतिशतले घटेर ५ हजार २ सय ३७ मा झर्यो। अष्ट्रेलियाबाट ६ हजार ८ सय २४ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३५.५ प्रतिशतले वृद्धि हो।
यस्तै अमेरिकाबाट सेप्टेम्बरमा ९ हजार ६ सय ७९ जना पर्यटक आएका छन्, जुन अघिल्लो वर्षभन्दा ४ प्रतिशतले मात्र घटेको हो। यो २०१९ को तुलनामा ३७ प्रतिशतले बढी हो।
विदेशी मुद्रा आम्दानी बढ्यो
नेपाल राष्ट्र बैंकका अनुसार सन् २०२५ को साउन महिनामा (मध्य जुलाई-मध्य अगस्ट) पर्यटनबाट विदेशी मुद्रा आम्दानी ५ अर्ब ३७ करोड रुपैयाँ (अमेरिकी डलर ३८.६ मिलियन) पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिभन्दा १२.७ प्रतिशतले बढी हो।
गत आर्थिक वर्ष २०८१/८२ मा ११ लाख ४६ हजार २ सय ७ पर्यटकबाट कुल ८८ अर्ब ६६ करोड रुपैयाँबराबरको विदेशी मुद्रा आम्दानी भएको थियो।
उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म पर्यटन क्षेत्रका ७९ वटा परियोजनामा ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ। यो कुल लगानी प्रतिबद्धताको २०.२ प्रतिशत मात्र हो। गत वर्ष (२०८१/८२)मा पर्यटन क्षेत्रमा ३ सय ४ परियोजनामा २६ अर्ब ८२ करोड रुपैयाँ लगानी प्रतिबद्धता थियो।
संयुक्त राष्ट्रसंघको पर्यटन विशेषज्ञ सर्वेक्षणअनुसार सन् २०२५ मा अन्तर्राष्ट्रिय पर्यटन पुनरुत्थानको गतिको मुख्य चुनौती महँगो हवाई भाडा, भूराजनीतिक तनाव र जलवायुजन्य अस्थिरता रहेका छन्।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले देशले भोगेको पछिल्लो आन्दोलन र बाढीपहिरोको संकटपछि नेपालले गन्तव्य सुरक्षामा विशेष जोड दिएको बताएका छन्। पछिल्लो आन्दोलन र बाढीपहिरोका कारण पर्यटन क्षेत्रले चुनौती भोगिरहेको छ।
'पर्यटन क्षेत्रको सुरक्षालाई सुदृढ पार्न बोर्डले विभिन्न अन्तर्राष्ट्रिय संयन्त्रसँग सहकार्य गर्दैछ र नेपाललाई सुरक्षित, शान्त र स्वागतयोग्य गन्तव्यका रूपमा विश्वसामु प्रस्तुत गर्नका लागि ठोस कदम चालिएको' जोशीले भने।
