काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कर्मचारीको लापरबाहीका कारण 'ह्याकर'ले दुई करोड रुपैयाँ लगेको दुई वर्ष भइसक्दा पनि रकम फिर्ता भएको छैन। ह्याक भएको भनिएको रकम यति लामो समयसम्म पनि निगमले फिर्ता गर्न नसक्दा कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि नै शंका बढेको छ।
कार्यकारी अध्यक्ष अधिकारीले नै तत्कालीन दुबई स्टेसनका कर्मचारीसँगको सेटिङमा रकम आफै लगेको हुनसक्ने चर्चा निगमका कर्मचारीबीच हुन थालेको छ। लापरबाही गर्ने कर्मचारीलाई कुनै कारबाही नहुनु र छानबीन समितिको रिपोर्टसमेत कार्यान्वयनमा नलैजानुको पछाडि सेटिङ नै भएको आरोप लागिरहेको छ।
ह्याक भएको भनेको दुई करोड रुपैयाँ खातामा नल्याइ कार्यकारी अध्यक्ष अधिकारी अवकाशमा जाने निश्चित भएको छ। अधिकारी आउँदो कात्तिक १० गतेबाट अवकाशमा जाँदै छन्।
कार्यकारी अध्यक्ष अधिकारीलाई सरकारले बर्खास्त गरेपछि अदालतमा सेटिङ मिलाउन उनले न्यायाधीशको भतिजीलाई दुबई स्टेशन प्रमुख बनाएर पठाएका थिए। उनै कर्मचारी अस्मिता सुवेदीकै लापरबाहीका कारण रकम ह्याक भएको थियो। अधिकारीले कर्मचारीको सेटिङमा रकम ह्याक भएको भन्दै दुई करोड रुपैयाँ हिनामिना गरेको हुनसक्ने निगमकै कर्मचारीहरू बताउँछन्।
निगमको दुबई स्टेसनका कर्मचारीले ठगीका सामान्य विषयसमेत नबुझ्दा दुई करोड रूपैयाँ ह्याकरले लगेको थियो। ह्याकरले निगमको दुबई स्टेसनको ईमेल आईडी ह्याक गरी क्याटरिङ कम्पनीको खाता नम्बर परिवर्तन भएको र नयाँ खाता नम्बरमा रकम हाल्न भन्दै रकम ठगी गरेको निगमको दाबी छ। तर दुई वर्ष हुँदासम्म रकम फिर्ता नआएपछि शंका बढेको छ।
ह्याकरको खातामा दुबई स्टेसन प्रमुख अस्मिता सुवेदीले तीनपटकसम्म गरी दुई करोड रकम हालेकी थिइन्। कार्यकारी अध्यक्ष अधिकारीले अहिले काठमाडौं केन्द्रीय कार्यालयमा नै सुवेदीलाई जिम्मेवारी दिएर काम गराइरहेका छन्। गल्ती गर्ने कर्मचारीलाई निलम्बन गरेर छानबीन गर्नुपर्ने भएपनि कुनै कारबाही नगरी अधिकारीले जिम्मेवारीमा नै काम गराइरहेका हुन्।
अस्मिता सुवेदीले सन् २०२३ को अगस्ट १ तारिखमा १ लाख १५ हजार १ सय ५३ दुबई दिराम, अगस्ट ९ तारिखमा २ लाख २० हजार ६ सय २ दिराम र अगस्ट २५ तारिखमा २ लाख १ सय दिराम गरी तीन किस्तामा कुल ५ लाख ३५ हजार ९ सय १२ दिराम ह्याकरको खातामा हालेकी थिइन्।
तत्कालीन सयममा एक दिरामबराबर ३६ रूपैयाँको हिसाबमा ५ लाख ३५ हजार ८ सय ५५ दिरामबराबर १ करोड ९२ लाख ९० हजार ७ सय ८० रूपैयाँ ह्याक भएको हो। उक्त रकम अहिलेसम्म पनि फिर्ता आउन सकेको छैन।
सानो रकमको आदानप्रदानमा समेत दोहोरो जाँच गरेर खाता नम्बर यकिन भएपछि मात्रै भुक्तानी गर्नुपर्ने विषय सामान्य आर्थिक चेतना हो। कर्मचारीले लेनदेनको सामान्य चेतनासमेत प्रयोग नगर्दा अन्तर्राष्ट्रिय लज्जाको विषय हुनेगरी निगम ठगिएको छ।
रकम ह्याकरले लगेको विषयमा निगमले अध्ययन समिति बनाएर अध्ययन गर्नुका साथै रकम फिर्ता ल्याउनका लागि ३६ लाख रुपैयाँ खर्च गरेर परामर्शदातासमेत नियुक्त गरेको थियो।
अहिले त हरेक महिनाजस्तो यही विषयमा थप जानकारी लिन जाने भन्दै निगमका कर्मचारीलाई दुबई भ्रमणको अवसर बनेको छ।
रकम ह्याक भएको विषय संसदीय समितिमा समेत उठेको थियो। निगम सञ्चालकहरूले समेत अधिकारीलाई बारम्बार यो विषयमा प्रश्न गरिरहेको एक सञ्चालकले बताए। तर कार्यकारी अध्यक्ष अधिकारीले कुनै विवरण र जवाफ बोर्डमा दिएका छैनन्।
