बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल पर्यटन बोर्डद्वारा ‘टुरिजम इन्साइट्स’ सार्वजनिक, पर्यटक आगमन वृद्धि गर्न निजी क्षेत्रसँग सहकार्य

सोमबार, असोज २७ २०८२
नेपाल पर्यटन बोर्डद्वारा ‘टुरिजम इन्साइट्स’ सार्वजनिक, पर्यटक आगमन वृद्धि गर्न निजी क्षेत्रसँग सहकार्य

यो नयाँ प्लेटफर्मले नीति निर्माताहरू, पर्यटन उद्योगी र अनुसन्धानकर्ताका लागि स्पष्ट र तथ्यमा आधारित जानकारी उपलब्ध गराउन योगदान पुर्‍याउने विश्वास लिइएको छ।

काठमाडौं- नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्यांक, प्रवृत्ति र विश्वव्यापी दृष्टिकोण समेटिएको ‘टुरिजम इन्साइट्स’ नामक मासिक डिजिटल प्रकाशन सार्वजनिक गरेको छ। यो नयाँ प्लेटफर्मले नीति निर्माताहरू, पर्यटन उद्योगी र अनुसन्धानकर्ताका लागि स्पष्ट र तथ्यमा आधारित जानकारी उपलब्ध गराउन योगदान पुर्‍याउने विश्वास लिइएको छ।

‘पर्यटनको वर्तमान स्थिति र पुनरुत्थानका रणनीतिहरू’ विषयमा पर्यटनका विभिन्‍न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग आइतबार काठमाडौंमा आयोजित ‘मीट एण्ड ग्रीट’ कार्यक्रममा टुरिजम् इन्साइट्स सार्वजनिक गरिएको हो। 

बोर्डका अनुसन्धान विभागका अधिकृत कविन्द्र भट्टका अनुसार, प्रकाशनमा आगन्तुक संख्या, मुख्य स्रोत बजार, क्षेत्रगत आगमन, विदेशी मुद्रा आय र प्रत्यक्ष विदेशी लगानीका तथ्यांकहरू समेटिएका छन्। साथै, संयुक्त राष्ट्र पर्यटन संगठन र विश्व यात्रा तथा पर्यटन परिषद् जस्ता अन्तर्राष्ट्रिय निकायका तथ्यांक र प्रवृत्तिहरू पनि समावेश गरिएको छ।

कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्डको ‘टुरिजम इन्साइट्स’ले नेपालको पर्यटन क्षेत्रलाई दिगो विकासतर्फ लैजान आवश्यक तथ्यांक र रणनीतिक दिशानिर्देश प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। यसका साथै उनले हालको संकटपछि पर्यटन क्षेत्रको सुरक्षामा बोर्डले गरेका प्रयासहरू र नेपाललाई सुरक्षित गन्तव्यको रूपमा विश्वसामु प्रस्तुत गर्नका लागि चालिएका कदमहरूबारे जानकारी दिए।

बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले निजी क्षेत्रसँगको सहकार्यमा थप समन्वय आवश्यक रहेको र सरकारलाई पर्यटनको महत्वबारे थप प्रष्ट पार्नुपर्ने सुझाव दिएका छन्। बोर्ड सदस्य ऋषि भण्डारीले विगतका सरकारहरूले पर्यटनको उत्थानका लागि केही चासो दिएको भए पनि अहिलेको सरकारले पर्यटनलाई प्राथमिकतामा नराखेको चिन्ता व्यक्त गरे।

त्यसैगरी, पाटाका महासचिवसमेत रहेका बोर्ड सदस्य नरेन्द्र भट्टले संकटको समयमा दीर्घकालीन रणनीति निर्माण गरी पर्यटन क्षेत्रलाई कमजोर हुन नदिन पहल थाल्नुपर्नेमा जोड दिए।

यस्तै, बोर्ड सदस्यसमेत रहेका नाटाका अध्यक्ष कुमार थपलियाले भारतलगायत प्रमुख बजारमा प्रवर्द्धनका लागि बजेटमा कार्यालय खोल्ने कार्यक्रम समावेश गरिएको उल्लेख गर्दै र कानुनी चुनौतीका कारण बोर्डले सबै काम प्रभावकारी रूपमा गर्न नसकेकोमा चिन्ता व्यक्त गरे।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले होटल क्षेत्रको समस्या औँल्याउँदै सामूहिक प्रयासको आवश्यकता औँल्याए।

पाटाका अध्यक्ष खेम लकाई, टानका अध्यक्ष सागर पाण्डे, सोटोका अध्यक्ष मानबहादुर शाही, ग्रामीण पर्यटन प्रवर्द्धन मञ्चका महासचिव चोपेन्द्र खड्का, पाटाका सीईओ सुरेश बुडाल, सीएनआईको पर्यटन विभागका पम्फा धमलालगायत निजी क्षेत्रका प्रतिनिधिहरुले नेपाललाई सुरक्षित गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा प्रवर्द्धन गर्न, विदेशी इन्फ्लुयन्सरलाई आमन्त्रण गर्न र सरकारसँग टास्कफोर्स गठन गरी संकट सामना गर्न सुझाव दिएका छन्।


प्रकाशित : सोमबार, असोज २७ २०८२१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend