बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

फेरिँदै ‘इन्टरनेट सर्च’ : एआईको विकासले गुगललाई कठिन?

बुधबार, असोज २९ २०८२
फेरिँदै ‘इन्टरनेट सर्च’ : एआईको विकासले गुगललाई कठिन?

अल्फाबेटका अनुसार दोस्रो त्रैमासमा गुगलको सर्च आम्दानी १२ प्रतिशत बढेर ५४.२ अर्ब डलर पुगेको छ। तर तथ्यांकले देखाउँछ कि एआई ओभरभ्युज प्रयोगकर्ताहरू लिंकमा पहिलेको भन्दा कम क्लिक गरिरहेका छन्।

काठमाडौं- एआईको तीव्र विकाससँगै विश्वका प्रविधि कम्पनीहरू आफ्ना व्यवसायको मोडेल परिवर्तन गर्न बाध्य भइरहेका छन्। यस्तोमा एआईका कारण आफूहरूको व्यवसायमा असर नपरेको दाबीसहितका विभिन्न तर्क पेश गरिरहेको गुगललाई अहिले हम्मे परेको छ। 

इन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्यधिक लगानी गरेको गुगलको हिस्सा एआईका कारण कमजोर भइरहेको हो? भन्ने प्रश्न व्यापक बनिरहँदा प्रतिस्पर्धा अझ तीब्र छ। 

गुगलको सर्च प्रमुख लिज रिड अहिले कठिन भूमिकामा छिन्। अहिले उनको काम नै गुगलको भूमिका नफेरिएको भनेर मानिसहरूलाई विश्वस्त तुल्याउनु रहेको छ। गुगलको सबैभन्दा ठूलो आम्दानीको स्रोत रहेको इन्टरनेट सर्च व्यवसायलाई एआईले असर गरेको छैन भन्ने बुझाउन उनलाई कठिन छ।

गुगलको माउ कम्पनी अल्फाबेटको कुल बिक्रीको आधाभन्दा बढी हिस्सा गुगल सर्चबाट नै आउँछ। यसैले पनि एआईका कारण भोगिरहेको चुनौतीले गुगललाई कठिन भइरहेको छ। यसैले त गुगलका कानूनी टिम भने गुगलको एकाधिकार भइरहेको व्यवसायमा एआई नै ठूलो खतरा रहेको बताइरहेका छन्। 

एआईका कारण गुगललाई कठिन भएको हो? भन्ने विषयमा गएको शुक्रबार गुगलको सर्च प्रमुख लिज रिडले एउट पडकास्टमा जवाफ दिएकी थिइन्। 'यो वास्तवमा विस्तारको क्षण हो। यो समयमा गुगल आफै सफलतापूर्वक बढ्न सक्छ र अरू पनि सफलतापूर्वक बढ्न सक्छन्’ उनको जवाफ थियो। 

तर विज्ञहरूले विगत केही वर्षयता एआई सञ्चालित च्याटबोटहरूले नै गुगलजस्तो पारम्परिक खोजलाई प्रतिस्थापन गर्दै गइरहेको बताइरहेका छन्। प्रयोगकर्ताले पहिले गुगलमा खोज्ने कुराहरू अब सिधै ओपनएआईको च्याटजीपीटी वा एक्सएआईको गोर्कजस्ता एआईलाई सोध्ने गरिरहेका छन्।

तर गुगल सर्च प्रमुख लिज रिड भने यसमा फरक तर्क पेश गर्छिन्। उनका अनुसार एआई च्याटबोटहरूको उदयले मानिसहरूमा जानकारी खोज्ने चाहना अझ बढाएको छ। त्यसैले मानिसहरूले चाहे पारम्परिक 'गुगल' गरेर जानकारी खोजुन् वा नयाँ तरिकाले 'च्याटबोट' सँग सोधुन्, जानकारी खोज्ने कुल मानिसहरूको संख्या बढ्दै गएको छ।

यही कारणले होला गुगलका अनुसार ‘सर्च क्वेरी’हरूको संख्या बढेको छ तर कम्पनीको बजार हिस्सेदारी भने घटेको छ। अनुसन्धान संस्था ‘स्टाटकाउन्टर’का अनुसार यस वर्ष गुगलको विश्वव्यापी मार्केट सेयर ९० प्रतिशतभन्दा तल झरेको छ, जुन करिब १० वर्षयताकै न्यून हो।

उक्त अवस्थामा सानो लाभ माइक्रोसफ्टले पाएको छ। उसले आफ्नो साझेदार ओपनएआईका मोडेलहरू माइक्रोसफ्ट बिङ सर्चमा समावेश गरेको छ। तर बिङको विश्व बजार हिस्सा केवल ३.९८ प्रतिशत छ। 

गुगलविरुद्ध चलिरहेको एक प्रमुख एन्टिट्रस्ट मुद्दाका क्रममा माइक्रोसफ्टका सीईओ सत्य नाडेलाले सन् २०२३ मा अदालतमा भनेका थिए, ‘गुगलको आजको ड्रिस्ट्रिब्युसन एड्भान्टेज हराउँदैन। बरु मलाई डर छ कि एआईको नयाँ सम्भावनाहरू हुँदाहुँदै पनि म फसेको यो खाल्डो अझ बलियो हुन सक्छ, किनभने डिफल्टहरू अझ बलिया हुनेछन्।'

माइक्रोसफ्टका सीईओ नाडेलाको त्यही कुरालाई एलन मस्कले पनि समर्थन गरेका थिए। मस्कले एप्पलविरुद्ध दायर गरेको मुद्दामा ‘एप्पलको ओपनएआईसँगको विशेष सम्बन्धले च्याटजीपीटीलाई अन्य एआई च्याटहरूको तुलनामा अन्यायपूर्ण फाइदा मिलेको’ दाबी गरेका छन्।

मस्कका अनुसार आईफोन नै एआई च्याटहरूको भविष्यमा प्रवेशद्वार हो र यो नियन्त्रण एप्पल-ओपनएआई गठबन्धनले कब्जा गरेको छ। 
यी सबै कुराले मोबाइल प्रयोगकर्ताको डेटा नै एआईको भविष्यको केन्द्रबिन्दु रहेको भने प्रष्ट हुन्छ।

गुगलविरुद्धको मुद्दामा सार्वजनिक भएका एप्पलका आन्तरिक इमेलहरूले यी दुई कम्पनीबीचको नजिकको सम्बन्ध पनि देखाएको छ। एक समयमा एप्पलले बिङ खरिद गर्नेबारे विचार गरिरहेको थियो, तर अन्ततः पछि हट्यो। त्यसबेला एप्पलका एक वरिष्ठ कार्यकारीले भनेका थिए, 'मोबाइल क्वेरीहरूमा ठूलो पहुँच नहुनु बिङका लागि ठूलो कमजोरी हो, किनभने सर्चमा सबैभन्दा महत्वपूर्ण कुरा प्रयोगकर्ताको संलग्नता हो।'

एआईले आफ्नो विज्ञापन व्यवसायमा ठूलो अव्यवस्था ल्याएको अहिले अर्को एन्टिट्रस्ट मुद्दामा गुगलले दाबी गरेको छ। भर्जिनियामा भएको पछिल्लो सुनुवाइअघि गुगलका वकिलहरूले विज्ञापन प्रविधि उद्योगमा एआई र मेसिन लर्निङ समावेश गर्ने उपकरणहरूको कारण तीव्र परिवर्तन भइरहेको बताएका छन्।

दि वाल  स्ट्रिट जर्नलका अनुसार गुगलले विगत दुई दशकमा प्रविधिका ठूला परिवर्तनहरूसँग सफलतापूर्वक अघि बढेको छ। एन्ड्रोइड खरिद गरेर गुगलले मोबाइल कम्प्युटिङमा आफ्नो पकड बनाएको थियो, जसले एप्पलसँगै गुगललाई डिजिटल संसारको प्रवेशद्वार बनायो। 

अब एआईको प्रतिस्पर्धामा पनि गुगलले 'एआई ओभरभ्युज' नामक नयाँ फिचर ल्याइसकेको छ। यो जेमिनी मोडेलमा आधारित छ, जसमा प्रयोगकर्तालाई सर्च नतिजाको सारांशसहित वेबका स्रोतहरूको लिंक प्रदान गरिएको देखिन्छ।

गुगलका अनुसार उक्त फिचरका दुई अर्बभन्दा बढी मासिक प्रयोगकर्ता छन्। त्यसका साथै गुगलले एआई मोड पनि ल्याएको छ, जसले सिधै च्याटबोटहरूसँग प्रतिस्पर्धा गर्छ।

अल्फाबेटका अनुसार दोस्रो त्रैमासमा गुगलको सर्च आम्दानी १२ प्रतिशत बढेर ५४.२ अर्ब डलर पुगेको छ। तर तथ्यांकले देखाउँछ कि एआई ओभरभ्युज प्रयोगकर्ताहरू लिंकमा पहिलेको भन्दा कम क्लिक गरिरहेका छन्।

(बिजनेस न्युज डटकमको यूट्युब च्यानलमा प्रकाशित भिडियोहरू हेर्न तथा सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। टिकटक, फेसबुकएक्समा पनि हाम्रा सामग्री हेर्न सकिन्छ।)


प्रकाशित : बुधबार, असोज २९ २०८२१०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend