शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

सेयर बजार राताम्य : विश्वस्त देखिएनन् लगानीकर्ता

आइतबार, असोज २६ २०८२
सेयर बजार राताम्य : विश्वस्त देखिएनन् लगानीकर्ता

काठमाडौं- यो साता पहिलो कारोबारमा नै सेयर बजार व्यापक घटेको छ। गएको साता भएका तीन कारोबारमा समग्रमा ८१.३२ अंकले घटेको बजार आज आइतबार पनि ओरालोतिर नै लागेको हो।

आइतबार ७८.८३ अंकले घटेर बजार २५०३.३५ बिन्दुमा झरेको छ। ९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ। २४२ कम्पनीको सेयर मूल्य घटेको छ।  

गएको साताको अन्तिम कारोबारमा बिहीबार कारोबार सुरु भएको तीन मिनेटमा नै सकारात्मक सर्किट ब्रेक लागेको भए पनि बजारले अपेक्षाकृत उचाइ लिन सकेको थिएन। बिहीबार कारोबार सकिँदा बजार २२.५९ अंकले बढेर २५८२.१९ बिन्दुमा पुगेको थियो। त्यसअघि मंगलबार ५८.५५ र बुधबार ४५.३६ अंकले बजार घटेको थियो। 

नयाँ चुनावी सरकार बनेकाले चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको छ।

पुँजी बजार सुधारका लागि अर्थ मन्त्रालयले सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने कर्जामा लगाइएको २५ करोड रुपैयाँको सीमा हटाएको छ। 

यस्तै राष्ट्र बैंकले एकपटकमा २० प्रतिशतसम्म मात्रै सेयर खरिद बिक्री गर्ने व्यवस्था पनि हटाएको छ। अब बैंक तथा वित्तीय संस्थाहरुले ६ महिनाभित्र शतप्रतिशत सेयर खरिद बिक्री गर्न सक्नेछन्। उक्त कदमले बजारमा सकारात्मक सन्देश गएर लगानीकर्ताको विश्वास बढ्ने अपेक्षा गरिएको थियो।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।

सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको भए पनि लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। राजनीतिक अस्थिरता देखिँदा बजारले लय समात्न मुस्किल भइरहेको छ। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्तामा बजारप्रतिको विश्वास फर्कँदै जाने विश्लेषकहरूले बताइरहेका छन्।


प्रकाशित : आइतबार, असोज २६ २०८२१५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend