बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अवरुद्ध भएको पाँच दिनपछि बिपी राजमार्ग पुनः सञ्चालन

बाढीले बगाएको बिपी राजमार्गमा साढे तीन किलोमिटरभन्दा बढी डाइभर्सन निर्माण

शुक्रबार, असोज २४ २०८२
अवरुद्ध भएको पाँच दिनपछि बिपी राजमार्ग पुनः सञ्चालन

काठमाडौं- बिपी राजमार्गअन्तर्गत नेपालथोक-धुलीखेल खण्ड पाँच दिनमा पुनः सञ्चालनमा आएको छ। असोज १८ र १९ गते रोशीखोलामा आएको बाढीले अस्थायी ट्याक सडक १७ ठाउँमा बगाएपछि करिब ३ हजार ८ सय ४२ मिटर सडक अवरुद्ध भएको थियो।

सिन्धुलीतर्फ ४ र काभ्रेतर्फ १३ स्थानमा डाइभर्सन सडक निर्माण भएपछि शुक्रबारदेखि यातायात सुरु भएको छ। 

गतवर्षको बाढीले नेपालथोकदेखि चौकडाँडासम्मको २२ किलोमिटर सडकमा ठूलो क्षति पुर्‍याएको थियो। त्यतिबेला सडक सञ्चालनमा ल्याउन झन्डै तीन साता लागेको थियो। तर यस वर्ष पाँच दिनमै डाइभर्सन निर्माण भएपछि राजमार्ग पुनः खुल्न सफल भएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दुईपटक स्थलगत निरीक्षण गरी द्रुत गतिमा काम गर्न निर्देशन दिएपछि रातदिन निर्माण कार्य अघि बढाइएको थियो।

अब बिपी राजमार्गको धुलीखेल-सिन्धुली-वर्दिवास खण्ड सञ्चालनमा आइसकेको छ। नेपालथोक-धुलीखेल खण्ड खुल्नासाथ सम्पूर्ण राजमार्ग खुला भएको छ। 

सबैभन्दा बढी क्षति पुगेका स्थानहरूमा माम्ती, उपल्लो माम्ती, तल्लो पिप्ले, माथ्लो पिप्ले, सुक्खा पहिरो, डल्लाबेँसी, कालढुंगा, बोक्सीकुना, च्युरीबास, नार्के, गिम्दीबेँसी, चारसय बेँसी, चारसय बेँसी घुमाउने, कटुञ्जे घुमाउने, चौकीडाँडा र दाप्चा पुल पर्दछन्। ती क्षेत्रमा सडक बगाएपछि अस्थायी बाटो बनाउन व्यापक रूपमा मेसिनरी प्रयोग गरिएको विभागले जनाएको छ।

माम्ती क्षेत्रमा ४ सय मिटर, माथिल्लो माम्तीमा २ सय ३५ मिटर, तल्लो पिप्ले २ सय २० मिटर, माथिल्लो पिप्ले २ सय ६२ मिटर, कालढुंगा ५ सय मिटर, बोक्सीकुना ४ सय १० मिटर, च्युरीबास १ सय २० मिटर, नार्के ५० मिटर, गिम्दीबेँसी ५० मिटर, चारसय बेँसी र घुमाउने ३ सय मिटर, कटुन्जे घुमाउने ३ सय मिटर, चौकीडाँडा ३ सय ७५ मिटर र दाप्चा पुल २० मिटर लम्बाइमा वैकल्पिक बाटो निर्माण गरिएको छ।

विभागका अनुसार डल्लाबेँसी, बोक्सीकुना, चारसय बेँसी घुमाउने र चौकीडाँडा लगायतका स्थानमा अस्थायी सडक निर्माण पूरा भइसकेको छ भने अन्य क्षेत्रमा काम जारी छ। स्थायी पुनर्निर्माणका लागि डिजाइन र लागत अनुमान तयार पार्ने प्रक्रिया अघि बढाइएको छ।


प्रकाशित : शुक्रबार, असोज २४ २०८२१५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend