काठमाडौं- नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडलाई प्रदान भएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण नगरिएको एक सूचनामार्फत जनाएको छ।
प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडलाई राष्ट्र बैंकबाट २०७६ फागुन ११ गते प्रदान भएको भुक्तानी सेवाप्रदायकको अनुमतिपत्र भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा १३ (४) को व्यवस्थाबमोजिम नवीकरण नगरिएको सूचना प्रकाशित गरिएको हो।
'प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्नुहुन समेत यसै सूचनाद्वारा अनुरोध गरिन्छ' सूचनामा भनिएको छ।