काठमाडौं- नेपाल राष्ट्र बैंकले सुन आयात गर्ने परिमाण बढाएको छ। यसअघिको व्यवस्थाअनुसार राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाण २० किलो तोकेकोमा अहिले २५ किलो बनाइएको छ।
राष्ट्र बैंकले शुक्रबार एक सर्कुलर जारी गर्दै दैनिक सुन आयात गर्ने परिमाण २० केजीबाट बढाएर २५ किलो पुर्याएको हो।
विश्व अर्थतन्त्र देखिरहेको अनिश्चितताले सुनको मूल्यमा भइरहेको वृद्धि र राष्ट्र बैंकसँग पर्याप्त विदेशी सञ्चिति रहेकाले सुन आयात गर्न पाउने परिमाण बढाएको हो।
यस्तै नेपाली विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक वा फर्म/कम्पनी/संस्था) बाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत् सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाखसम्म (एकपटक वा पटक पटक) को विप्रेषण रकम ल्याउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। जुन रकमको सीमा यसअघि २० लाख रुपैयाँसम्मको थियो।
यसरी इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू लिएको हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ।