आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

१० ठूला बैंकको लेखापरीक्षणका लागि बंगलादेशी कम्पनीको टोली काठमाडौं आउँदै

शुक्रबार, असोज २४ २०८२
१० ठूला बैंकको लेखापरीक्षणका लागि बंगलादेशी कम्पनीको टोली काठमाडौं आउँदै

कम्पनीले बैंकहरूको कर्जा फाँट, जोखिम व्यवस्थापन प्रणाली, कर्जा वर्गीकरण, प्रोभिजन व्यवस्था, पुनर्संरचना नीति, कर्जा असुली र आन्तरिक लेखा नियन्त्रणका विषयमा विस्तृत अध्ययन गर्नेछ।

काठमाडौं- नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न छनोट भएको बंगलादेशी कम्पनी 'हावलदार युनुस एण्ड कम्पनी'को टोली यही २५ गते शनिबार काठमाडौं आउने भएको छ। 

नेपाल राष्ट्र बैंकले ठूला वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षणका लागि बंगलादेशको हावलदार युनुस एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा छनोट गरेको हो। कम्पनीले ४ करोड ३७ लाख ४५ हजार रुपैयाँमा लेखापरीक्षणको जिम्मा पाएको छ। 

नेपाल सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग लिएको विस्तारित कर्जा सुविधाअन्तर्गत वाणिज्य बैंकहरूको कर्जा गुणस्तर स्वतन्त्र अन्तर्राष्ट्रिय लेखापरीक्षकमार्फत परीक्षण गर्नुपर्ने सर्त राखिएको थियो। सोही सर्तअनुसार राष्ट्र बैंकले यो प्रक्रिया अघि बढाएको थियो।

मुद्रा कोषले नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको गुणस्तर, निष्क्रिय कर्जा र जोखिम व्यवस्थापनका विषयमा देखिएको कमजोरीबारे चिन्ता व्यक्त गर्दै यस्तो लेखा परीक्षण आवश्यक ठानेको छ।

गत आर्थिक वर्षमै राष्ट्र बैंकले अन्तर्राष्ट्रिय लेखापरीक्षक छनोटका लागि बोलपत्र आह्वान गरेको थियो। त्यस क्रममा भारतको केपीएमजी कम्पनी प्राविधिक रूपमा योग्य ठहरिए पनि आर्थिक प्रस्ताव सार्वजनिक खरिद ऐनविपरीत हुने निष्कर्ष आएपछि प्रक्रिया रोकिएको थियो। पछि नयाँ बोलपत्र आह्वान गरेर पुनः मूल्यांकन गरिँदा हावलदार युनुस एण्ड कम्पनी प्राविधिक र आर्थिक दुवै पक्षबाट योग्य ठहरिएपछि सम्झौता गरिएको हो।

कम्पनीले नेपालका १० ठूला वाणिज्य बैंकहरूको कर्जा लगानीको गुणस्तर परीक्षण गर्नेछ। यस क्रममा कम्पनीले बैंकहरूको कर्जा फाँट, जोखिम व्यवस्थापन प्रणाली, कर्जा वर्गीकरण, प्रोभिजन व्यवस्था, पुनर्संरचना नीति, कर्जा असुली र आन्तरिक लेखा नियन्त्रणका विषयमा विस्तृत अध्ययन गर्नेछ। अध्ययनका आधारमा तयार हुने प्रतिवेदन राष्ट्र बैंकमा बुझाइनेछ।

राष्ट्र बैंकले यो परीक्षण सामान्य वित्तीय लेखापरीक्षणमात्र नभइ सम्पत्ति गुणस्तर मूल्यांकन हुने बताएको छ। बैंकहरूको वास्तविक पुँजीको स्थिति, जोखिमको स्तर र दीर्घकालीन स्थायित्वबारे सुझाव आउने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकका अनुसार परीक्षणका लागि छानिने १० वाणिज्य बैंकहरू कर्जा लगानीको परिमाण र प्रणालीगत प्रभावका आधारमा तय गरिने छन्। कर्जा लगानीका आधारमा ठूला बैंकहरूमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक, प्रभु बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, हिमालयन बैंक र सिद्धार्थ बैंक रहने देखिएको छ। तीमध्ये १० वटा बैंकको प्रत्यक्ष मूल्यांकन गरिने जनाइएको छ।

लेखा परीक्षणबाट प्राप्त निष्कर्षले बैंकहरूको पुँजी पर्याप्तता, कर्जाको वास्तविक जोखिम र प्रोभिजनिङ नीतिसम्बन्धी सुधारका लागि आधार तय गर्नेछ। परीक्षणको नतिजाका आधारमा आवश्यकताअनुसार नयाँ नियामक मापदण्ड ल्याउने तयारीसमेत भएको छ। यसलाई नेपालको बैंकिङ प्रणालीको पारदर्शिता र विश्वास बढाउने महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरिएको छ। यदि परीक्षणबाट बैंकहरूको कर्जा गुणस्तर अपेक्षाभन्दा कमजोर देखियो भने पुँजी बढाउने र जोखिम व्यवस्थापन सुधार गर्ने दबाब आउनेछ।

बंगलादेशको हावलदार युनुस एण्ड कम्पनीले दक्षिण एसियाली देशहरूमा विगत दुई दशकदेखि वित्तीय लेखापरीक्षण र सम्पत्ति गुणस्तर मूल्यांकनका काम गर्दै आएको छ। 


प्रकाशित : शुक्रबार, असोज २४ २०८२११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend