बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

फरारीको पहिलो विद्युतीय कार : एक हजार हर्सपावर र चार मोटरसहित आउने

शुक्रबार, असोज २४ २०८२
फरारीको पहिलो विद्युतीय कार : एक हजार हर्सपावर र चार मोटरसहित आउने

फरारीको इलेट्रिकाले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति २.५ सेकेन्डमै तय गर्न सक्ने दाबी कम्पनीले गरेको छ। यो विद्युतीय कारमा १ सय २२ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक हुनेछ।

काठमाडौं- इटालीको विलासी स्पोट्र्स कार निर्माता फरारीले पहिलो पूर्णविद्युतीय कार ल्याउने भएको छ। कम्पनीले हालै इटालीमा पहिलोपटक आफ्नो पूर्णविद्युतीय कारको प्रारुप र केही विशेषताहरु सार्वजनिक गरेको हो। 

२०२६ को जुनसम्ममा बजारमा ल्याउने तयारीसहित काम गरिरहेको बताएको फरारीले पहिलो विद्युतीय कारको नाम ‘इलेट्रिका’ राखेको छ। कम्पनीका सीईओ बेनेडेटो भिग्नाका अनुसार यो कार १ हजार हर्सपावरभन्दा बढी शक्ति, चारवटा मोटर र कम्पनीको इतिहासमै पहिलो पटक चारै पांग्रामाथि पूर्णनियन्त्रण हुने सक्रिय सस्पेन्सन प्रणालीसहित आउनेछ।

शक्तिशाली विद्युतीय कार तथा स्पोर्ट्स कार उत्पादक कम्पनीहरुले उत्पादन गति कम गरिरहेको अवस्थामा फरारीले पहिलो स्पोर्ट्स ईभी ल्याउने बताएको हो। फरारीको यो योजनालाई धेरैले उच्च महत्वाकांक्षी योजना भनेका छन्। 

८ सय भोल्टको आर्किटेक्चरमा बनाइएको यो कारमा चारवटै पांग्रामा अलग अलग इलेक्ट्रिक मोटर र ४८ भोल्टको सक्रिय सस्पेन्सन राखेर फरारी इलेट्रिका उत्पादन हुनेछ। यसले सो विद्युतीय कारलाई फेरारीले अहिलेसम्म बनाएको कारमध्ये सबैभन्दा परिष्कृत बनाउने दाबी गरिएको छ। 

नवीन प्रविधिका कारण इलेट्रिका फेरारीको इतिहासमा चारै पांग्राको स्टेरिङ, ड्याम्पिङ  र पावरट्रेनमा स्वतन्त्र नियन्त्रण भएको पहिलो कार बन्नेछ। यस प्रविधिले गाडीलाई तीव्र गतिमा मोडिने क्रममा बाहिरी पा्रग्रामा बढी टर्क दिने र उच्च गतिको स्थिरताका लागि पछाडिको पांंग्रालाई स्वचालित रूपमा भित्री भागमा मोड्ने क्षमता प्रदान बताइएको छ। सस्पेन्सन, रियर स्टेरिङ र पावर समायोजनहरु प्रति सेकेन्ड २ सय पटक परिवर्तन हुने दाबी गरिएको छ। 

डिजाइन र सेगमेन्टमा परिवर्तन

यस गाडीले फेरारीको डिजाइन र सेगमेन्टमा ठूलो बदलाव ल्याउनेछ। फरारीले यसलाई सिधै ‘सुपरकार’ नभइ ग्रान्ड टूररको रूपमा अघि सार्ने संकेत गरेको छ। 

फरारीका सीईओको प्रस्तुतिमा यसलाई पुरानो जीटीसी ४ लुसोसँग जोडिएकाले इलेट्रिकाको डिजाइन सुटिङ ब्रेक, वेगन र सानो क्रसओभरबीचको रूपमा रहने यल्लेख गरेका छन्। फेरारीले तीन वर्षअघिसम्म चार ढोका भएको गाडी बनाएको थिएन। तर अब इलेट्रिका चार ढोकासहित आउने दोस्रो मोडल बन्नेछ।

फरारीको इलेट्रिकाले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति २.५ सेकेन्डमै तय गर्न सक्ने दाबी कम्पनीले गरेको छ। यो विद्युतीय कारमा १ सय २२ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक हुनेछ। त्यस्तै यो कारले एक पटकको फुल चार्जमा ५ सय ३० किलोमिटर रेन्ज दिनेछ भने चार्जिङ क्षमता ३ सय ५० किलोवाटसम्म हुनेछ। 

फेरारीले इलेट्रिकालाई तीन चरणमा सार्वजनिक गर्ने जनाएको छ। बुधबारको प्राविधिक प्रस्तुति पहिलो चरण थियो। बाँकी दुई चरण २०२६ को पहिलो र दोस्रो त्रैमासमा हुनेछन्। यद्यपि यसको मूल्य र बजारमा उपलब्धताको मिति भने कम्पनीले खुलाइसकेको छैन।

फरारीका सीईओले स्पष्ट पारेका छन् कि इलेट्रिका विद्यमान मोडलको विकल्प नभइ विद्युतीय गाडीहरूको तौलका कारण सिर्जना गरिएको नयाँ प्रकारको पर्फमेन्स कारका रुपमा आउने छ। 


प्रकाशित : शुक्रबार, असोज २४ २०८२०९:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend