काठमाडौं- हालैको बाढीपहिरोले क्षति पुर्याएको बिपी राजमार्ग (धुलिखेल-बर्खेखोला खण्ड) का विभिन्न भागमा अस्थायी डाइभर्सन निर्माण कार्य तीव्र गतिमा भइरहेको सडक विभागले जनाएको छ।
विभागका अनुसार बाढीपहिरोका कारण सडक बगाएका सत्रवटा स्थानमा करिब ३ हजार ८ सय ४२ मिटर (साढे तीन किलोमिटरभन्दा बढी) लम्बाइका अस्थायी डाइभर्सन मार्ग निर्माण गरिँदैछ।
सबैभन्दा बढी क्षति माम्ती, उपल्लो माम्ती, तल्लो पिप्ले, माथ्लो पिप्ले, सुक्खा पहिरो, डल्लाबेँसी, कालढुंगा, बोक्सीकुना, च्युरीबास, नार्के, गिम्दीबेँसी, चारसय बेँसी, चारसय बेँसी घुमाउने, कटुञ्जे घुमाउने, चौकीडाँडा र दाप्चा पुल क्षेत्रमा पुगेको छ। ती क्षेत्रमा सडक बगाएर यातायात अवरुद्ध भएपछि अस्थायी बाटो बनाउन व्यापक रूपमा मेसिनरी प्रयोग गरिएको विभागले जनाएको छ।
माम्ती क्षेत्रमा ४ सय मिटर र माथिल्लो माम्ती क्षेत्रमा २ सय ३५ मिटर लामो डाइभर्सन निर्माण भइरहेको छ। तल्लो पिप्ले र माथिल्लो पिप्ले क्षेत्रमा क्रमशः २ सय २० मिटर र २ सय ६२ मिटर लामो सडक बगाएको र सोही लम्बाइको वैकल्पिक बाटो बनाउन काम भइरहेको छ।
त्यस्तै सुक्खा पहिरो र डल्लाबेँसी क्षेत्रमा समेत अस्थायी बाटो निर्माण गरेर आवागमन सहज बनाइएको छ। कालढुंगा क्षेत्रमा पाँच सय मिटर, र बोक्सीकुना क्षेत्रमा चार सय दश मिटर लामो डाइभर्सन निर्माण कार्य सम्पन्न भइसकेको छ।
च्युरीबास क्षेत्रमा १ सय २० मिटर, नार्केमा ५० मिटर, गिम्दीबेँसीमा ५० मिटर, चारसय बेँसी र घुमाउने क्षेत्रमा ३ सय मिटर, कटुन्जे घुमाउने क्षेत्रमा ३ सय मिटर, चौकीडाँडा क्षेत्रमा ३ सय ७५ मिटर र दाप्चा पुल क्षेत्रमा २० मिटर लम्बाइमा वैकल्पिक बाटो बनाइएको छ।
यीमध्ये डल्लाबेँसी, बोक्सीकुना, चारसय बेँसी घुमाउने, चौकीडाँडा लगायतका स्थानमा अस्थायी सडक निर्माण पूरा भइसकेको छ भने माम्ती, पिप्ले, कालढुंगा, चियुरीबास, गिम्दीबेँसी, कटुन्जे घुमाउने र दाप्चा पुल क्षेत्रमा काम जारी छ।
विभागका अनुसार ठूलो मात्रामा सडक बगाए पनि अस्थायी डाइभर्सनका कारण अहिले धुलिखेल-बर्खेखोला खण्डमा सवारीसाधन चल्न थालेका छन्। स्थायी पुनर्निर्माणका लागि डिजाइन र लागत अनुमान तयार पार्ने प्रक्रिया अघि बढाइएको छ।
मन्त्री घिसिङद्वारा क्षतिग्रस्त क्षेत्रको अनुगमन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढीपहिरोले क्षति पुर्याएको बिपी राजमार्गका विभिन्न खण्डको स्थलगत अनुगमन गरेका छन्। उनीसँगै मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैसी पनि अनुगमन टोलीमा सहभागी छन्।
बाढीले क्षतिग्रस्त बनाएको चौकीडाँडालगायत करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्ने तयारी भइरहेको मन्त्री घिसिङले जानकारी दिए।
संघीय राजधानी काठमाडौंलाई बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूसँग जोड्ने यो ‘लाइफ लाइन’ सडकलाई सकेसम्म छिटो सञ्चालनमा ल्याउन उनले सडक विभागका अधिकारी र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।
गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे-नेपालथोक खण्डमा ठूलो क्षति पुर्याएको थियो। सो खण्डमा तत्काल अस्थायी डाइभर्सन बनाएर सञ्चालन गरिएको थियो। तर यस वर्षको बाढीले सो क्षेत्रकै करिब ४ किलोमिटर सडक पुनः पूर्ण रूपमा बगाएको छ।
गत वर्ष क्षति पुगेका खण्डको स्थायी पुनर्निर्माणका लागि केही ठेक्का सम्झौता भइसकेको र बाँकी खण्डको ठेक्का सम्झौता अन्तिम चरणमा रहेको सडक विभागले जनाएको छ।
