काठमाडौं- गएको भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिँदा भएका क्षतिको बीमा दाबी कुल २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार असोज २२ गतेसम्म आइपुग्दा विभिन्न १४ निर्जीवन बीमा कम्पनी र चार लघु निर्जीवन बीमा कम्पनीमा गरी जम्मा ३ हजार ९९ वटा बीमा दाबी परेको छ।
प्राधिकरणका तथ्यांकअनुसार बुधबारसम्म अग्रिम भुक्तानीसहित करिब १ अर्ब २९ करोड १९ लाख रुपैयाँ बीमा भुक्तानी भइसकेको छ। बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि अहिलेसम्म २ हजार ७०६ सर्भेयर खटाएका छन्। तीमध्ये ३७४ सर्भे प्रतिवेदन पेश भइसकेका छन्।
प्राधिकरणका अनुसार बीमा दाबीको रकम सुरुमा बीमित पक्षले अनुमानका आधारमा पेस गर्ने भएकाले वास्तविक क्षति मूल्यांकनपछि घट्ने वा परिवर्तन हुने प्रक्रिया स्वाभाविक हो।
पछिल्लो एक सातादेखि सर्भेयरहरूले फिल्डमा गएर क्षतिको मूल्यांकन सुरु गरेपछि प्रारम्भिक दाबी रकम केही घट्दै गएको बीमा कम्पनीहरूले जनाएका छन्।
यसअघि बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार कुल दाबी रकम २३ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो। पछिल्ला दिनमा केही नयाँ दाबी थपिएका छन् भने सर्भे मूल्यांकनपछि केही पुराना दाबी रकम घटेका छन्।
प्राधिकरणले सबै निर्जीवन बीमा कम्पनीलाई क्षति मूल्यांकन र बीमा भुक्तानी प्रक्रिया छरितो बनाउन निर्देशन दिएको छ।