काठमाडौं- साताको अन्तिम कारोबारमा आज बिहीबार सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ।
कारोबार सुरु भएको तीन मिनेटमा नै उछाल देखिएर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको हो। 'सर्किट ब्रेक' लागेपछि २० मिनेटका लागि कारोबार रोकिएको छ।
कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ। सर्किट ब्रेकपछि २० मिनेटका लागि 'मार्केट हल्ट' भएको हो।
सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतारचढावमा कारोबार स्थगन गर्ने प्रणाली 'सर्किट ब्रेक' हो।
कारोबार सुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा 'सर्किट ब्रेक' लाग्ने व्यवस्था छ।
पहिलो सर्किट ब्रेक लाग्दा १०२.४१ अंकले बढेर बजार २६६२.००बिन्दुमा पुगेको छ।
यो साता ओरालोतिर देखिएको बजारमा अन्तिम दिनको कारोबारमा बिहीबार उछाल देखिएको हो। नयाँ चुनावी सरकार बनेकाले चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको छ।