काठमाडौं- नेपाल राष्ट्र बैंकले सेयर कर्जाको २५ करोड रुपैयाँको सीमा हटाएको छ।
यसअघि पूर्वगभर्नर महाप्रसाद अधिकारीले लगाएको सेयर कर्जाको सीमा राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै अहिले हटाएको हो।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर कर्जाको सीमा २५ करोड कायम गरेको थियो। पूर्वगभर्नर अधिकारीले सुरुवातमा एकाघर परिवारले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सम्पूर्ण बैंकिङ प्रणालीबाट ११ करोड कर्जा लिन पाउने व्यवस्था गरेका थिए।
यसपछि यसलाई क्रमिकरुपमा खुकुलो बनाउँदै चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत व्यक्तिगत सेयर कर्जाको सीमा बढाएर २५ करोड कायम गरिएको थियो। संस्थागत रुपमा सेयर खरिद बिक्री गर्न स्थापना भएका कम्पनीहरुका लागि भने सेयर कर्जाको सीमा हटाइएको थियो।
यसपटक राष्ट्र बैंकले सेयर कर्जाको सम्पूर्ण सीमा नै हटाएको हो।