बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सौराहामा आउन थाले पर्यटक

बुधबार, असोज २२ २०८२
सौराहामा आउन थाले पर्यटक

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक बस्नका लागि सौराहा आउने गर्दछन्। उनीहरु निकुञ्ज र सामुदायिक वनमा सफारी गर्ने गर्दछन्।

चितवन- पर्यटकीय मौसममा राजनीतिक परिवर्तन र ठाउँ-ठाउँको पहिरोका कारण पर्यटकहरुले बुकिङ रद्द गरेपछि निराश बनेका सौराहाका व्यवसायी पर्यटकीय चहलपहल बढ्न थालेसँगै उत्साहित भएका छन्।

सौराहाको युनिक वाइल्ड रिसोर्टमा आज ३० जना तेस्रो मुलुकका पर्यटक आउँदै गरेको भन्दै सञ्चालक गुणराज थपलियाले खुसी व्यक्त गरे। गत वर्षहरुमा यतिबेला पर्यटकले भरिभराउ हुने सौराहामा यस वर्ष दसैँभरको सुनसानपछि पर्यटक आउन थालेसँगै होटल व्यवसायीहरुमा केही उत्साह थपिएको छ।

क्षेत्रीय होटल संघका उपाध्यक्षसमेत रहेका थपलियाले मंगलबारदेखि आन्तरिक र बाह्य पर्यटक आउन थालेको बताए। आजको अवस्था हेर्दै गर्दा ३० प्रतिशत हाराहारी पर्यटक पुगेको उनको भनाइ छ। उनले भने, 'दसैँको समयमा पाँच प्रतिशत हाराहारी मात्र पर्यटक भएकामा हिजोदेखि राम्रो बढ्दै गएको छ।' 

गत वर्ष यो समयमा सौराहामा ८० प्रतिशत हाराहारी पर्यटक पुग्ने गर्दथे। क्षेत्रीय होटल संघका अध्यक्ष ओम पाण्डेले आफ्नो होटल ल्याण्डमार्कसहित होटलहरुमा पर्यटक आउन थालेको बताए।

जेनजी आन्दोलनअघि नेपाल आएका पर्यटक सडक राम्रो भएसँगै सौराहा आउन थालेको उनी बताउँछन्। नेपालीहरु न्यून भए पनि विदेशीको सङ्ख्या बढ्दो छ। उनले भने, 'बुकिङ राम्रो नभए पनि सोझै आउनेहरु बढ्न थालेका छन्।' साह्रै न्यून पर्यटक रहेकामा केही आउन थालेपछि आफूहरुमा आशा जगाएको पाण्डे बताउँछन्।

जंग सफारी लजका सञ्चालक सुमन घिमिरे पनि क्रमशः पर्यटक आउन थालेको बताउँछन्। तिहारसँगै स्वदेशी पर्यटकको सङ्ख्या बढ्ने उनको अनुमान छ। उनले भने, 'आन्तरिक तथा बाह्य पर्यटक क्रमशः बढ्ने हामीले अपेक्षा गरेका छौँ।'

निकुञ्जभित्रको जंगल सफारीसमेत खुलेकाले यहाँ आउने पर्यटक बढेको उनले बताए। चितवन आउन चाहने पर्यटकका लागि सबैतिरका सडक सञ्जाल राम्रो भएको भन्दै उनले बिदाका दिनमा पर्यटकको आगमन बढ्ने बताए।

होटल भिष्टाका सञ्चालक रमेश सिलवाल आज मात्रै १४ जना टेलिफोन गरेर सौराहा आउँदै गरेको बताउँछन्। विभिन्न माध्यमबाट बुझ्ने क्रम सुरु भएकाले अब पर्यटक बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

सौराहाका पर्यटन व्यवसायी दीपेन्द्र खतिवडा रेष्टुराँहरुमा पर्यटकको आगमन बढेको बताउँछन्। हात्ती सफारी गर्नेहरु पनि क्रमशः बढ्दै गएको उनको भनाइ छ। विगत वर्षहरुमा दसैँको समयमा हात्ती चढ्नेहरुका लागि पुर्‍याउन मुस्किल हुने गरेको भए पनि यस वर्ष दसैँभर सुनसान अवस्थामा रहेको उनले बताए।

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक बस्नका लागि सौराहा आउने गर्दछन्। उनीहरु निकुञ्ज र सामुदायिक वनमा सफारी गर्ने गर्दछन्। दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा, पाटे बाघलगायतका जनावार हेर्न उनीहरु रुचाउँछन्। यो निकुञ्ज सफारीका लागि विश्वमा नै परिचित छ। रासस


प्रकाशित : बुधबार, असोज २२ २०८२१४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend