बागलुङ- निसीखोला गाउँपालिका-६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे गाउँपालिका-१ रुपगासम्मको १३ किलोमिटर सडक एक दशकमा पनि पूरा नहुँदा यो बाटोको यात्रा कष्टकर बनेको छ।
निर्माण व्यवसायीको लापरबाहीका कारण निर्धारित समयमा काम पूरा नभएको हो। विसं २०७३ जेठ १३ भित्रमा कालोपत्र गरीसक्ने सम्झौता भएकामा हालसम्म ७० प्रतिशत मात्र काम भएको दैलेखस्थित मध्यपहाडी लोकमार्ग कार्यालयका सूचना अधिकारी नवीन खरालले बताए।
लोकमार्गअन्तर्गतको उक्त खण्ड कालोपत्र गर्न ४२ करोड ९९ लाख चार हजार रूपैयाँमा सम्झौता भएको हो। पटकपटक म्याद थपेर सम्झौताअनुसारको काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको उनले बताए।
'मध्यपहाडी लोकमार्गमा धेरै सवारीसाधन चल्न थालेका छन्, दैनिक सयौँ यात्रु यही मार्गबाट यात्रा गर्छन्, पातिहाल्नेदेखि रुपगासम्म कालोपत्र गर्न सबै तयारी भएको थियो, तर लामो समयदेखि निर्माण कम्पनी नआउँदा बनेका संरचना पनि भत्किएका छन्', सूचना अधिकारी खरालले भने। रासस
