बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बाढीपहिरोबाट क्षति पुगेका सडक पुनर्निर्माणमा १२ अर्ब खर्च हुने अनुमान

अवरुद्ध सडक खुलाउने उच्च प्राथमिकता: मन्त्री कुलमान घिसिङ

बुधबार, असोज २२ २०८२
बाढीपहिरोबाट क्षति पुगेका सडक पुनर्निर्माणमा १२ अर्ब खर्च हुने अनुमान

हालैको अविरल वर्षा, बाढी र पहिरोका कारण क्षति पुगेका सडक तथा पुलहरूको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

काठमाडौं- हालैको अविरल वर्षा, बाढी र पहिरोका कारण क्षति पुगेका सडक तथा पुलहरूको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यस वर्षको मनसुनजन्य विपदबाट प्रभावित मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणमा मात्रै १० अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ। यस्तै, गत वर्षका विपदबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ अझै बाँकी छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले अवरुद्ध सडक पुनः सञ्चालनलाई उच्च प्राथमिकतामा राखिएको बताए। उनका अनुसार, सडक खुलाउने कार्यका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको छ र कामको निरन्तर अनुगमन मन्त्रालय स्तरबाट भइरहेको छ।

मन्त्री घिसिङले भने, 'बाढीपहिरोले क्षति पुर्‍याएका सडक संरचना पुनः सञ्चालन र दिगो पुनर्निर्माणका लागि सरकार प्रतिबद्ध छ। तत्काल यातायात सहज बनाउने र दीर्घकालीन पुनर्निर्माण दुवैलाई एकैसाथ अगाडि बढाइँदैछ।'

यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ, जसको पुनर्निर्माणका लागि मात्र डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। यस्तै कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट–मुग्लिनलगायत राजमार्ग पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ, नयाँ राखिनुपर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ, र वैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

मन्त्रालयले उल्लेख गरेको छ। बाढीपहिरोले देशका मुख्य यातायात सञ्जालमा ठूलो असर पारेकाले तत्काल पुनसञ्चालन र दीर्घकालीन दिगो संरचना निर्माणमा जोड दिइने समेत मन्त्रालयले जनाएको छ।


प्रकाशित : बुधबार, असोज २२ २०८२१०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend