काठमाडौं- जेनजी आन्दोलनको नाममा एक समूहले भोटेकोशी जलविद्युत् आयोजनासँग १० प्रतिशत निःशुल्क सेयर दिनुपर्ने माग गर्दै धम्की दिएको कारण आयोजना गत भदौ २५ गतेदेखि पूर्णरूपमा ठप्प भएको छ। आयोजनाले यस अवधिमा करिब २० करोड रुपैयाँ घाटा व्यहोरेको अनुमान गरिएको छ।
भोटेकोशी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिक्रमरत्न स्थापितका अनुसार आन्दोलनकारी समूहले कार्यालयमै धम्की दिएपछि कर्मचारीहरू त्रसित भएर भागेका थिए। नेपाली सेनाले सुरक्षाको व्यवस्था गरे पनि उत्पादन सुरु गर्न सकिने अवस्था छैन।
स्थापितले भने, ‘निःशुल्क सेयर दिने माग कानूनसम्मत नभएकाले हाम्रो सञ्चालक समितिले पनि निर्णय गर्न सक्दैन। अब सरकारले नै यसबारे निर्णय गर्नु आवश्यक देखिन्छ।’
गत असोज २ गते स्थानीय जनप्रतिनिधि, आयोजनाका प्रतिनिधि र आन्दोलनकारीको सहभागितामा विवाद समाधानको छलफल भएको थियो। तर झडप र तोडफोडपछि प्रारम्भिक सहमति भए पनि कार्यान्वयन हुन सकेन।
भोटेकोशी जलविद्युत् आयोजना नेपालकै पहिलो प्रत्यक्ष वैदेशिक लगानीमार्फत प्रवर्द्धित ४५ मेगावाट क्षमताको आयोजना हो। अमेरिकी कम्पनी पान्डा इनर्जीले सुरु गरेको यो आयोजना सन् २००१ मा व्यावसायिक उत्पादनमा आएको हो। हाल ९५ प्रतिशत स्वामित्व नेपाली लगानीकर्ताको र बाँकी ५ प्रतिशत अमेरिकी कम्पनीको छ।
स्थानीयले अघिल्ला वर्षहरूमा ६ प्रतिशत सेयर माग्दै आएका थिए। जेनजी आन्दोलनको नाममा अन्य १० जलविद्युत् आयोजनाप्रति पनि समान माग र धम्की आएको इप्पानले जनाएको छ।
स्थापितले भने, ‘करोडौँ घाटा भइसकेको छ। छिटो समाधान नहुँदा लगानी वातावरणमा नकारात्मक सन्देश गएको छ।’
आयोजना २५ वर्षे लाइसेन्स अवधिसहित नेपाल विद्युत् प्राधिकरणसँग २५ वर्षे विद्युत् खरिद सम्झौताअन्तर्गत सञ्चालन हुँदै आएको छ। प्रतियुनिट विद्युत् १ रुपैयाँ ६२ पैसा ५६ पैसा दरमा बिक्री हुँदै आएको छ, जुन नेपालकै सस्तो दरमध्ये एक हो।
सिन्धुपाल्चोक र अन्य क्षेत्रमा हाल निर्माण सम्पन्न वा निर्माणाधीन रहेका प्रमुख जलविद्युत् आयोजनाहरूमा समेत धम्की दिइएको छ। सिन्धुपाल्चोक र अन्य क्षेत्रमा हाल निर्माण सम्पन्न तथा निर्माणाधीन रहेका प्रमुख जलविद्युत् आयोजना पनि जेनजी आन्दोलनको नाममा धम्कीको सामना गरिरहेका छन्।
निर्माण सम्पन्न आयोजनाहरूमा वलेफी हाइड्रोपावर (३६ मेगावाट), मुनलाइट हाइड्रोपावर (२२ मेगावाट), सेवा हाइड्रोपावर (१.५ मेगावाट), राइजिङ हाइड्रोपावर (१.५ मेगावाट), गाउँघर उज्यालो हाइड्रोपावर (१.५ मेगावाट), याम्बुलिङ हाइड्रोपावर (७ मेगावाट), बलेफी इनर्जी हाइड्रोपावर (४० मेगावाट), अप्पर बलेफी हाइड्रोपावर (३६ मेगावाट), नेशम खोला हाइड्रोपावर (४१ मेगावाट) र सीता हाइड्रोपावर (४६ मेगावाट) रहेका छन्।
त्यस्तै निर्माणाधीन आयोजनाहरूमा ब्रह्मायणी हाइड्रोपावर (३६ मेगावाट) सहित अन्य परियोजनाहरू पनि स्थानीय दबाब र जेनजी आन्दोलनको धम्कीको सामना गरिरहेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार, भोटेकोशी घटनापछि १० भन्दा बढी आयोजनामा पनि जेनजी समूहको दबाब बढ्दै गएको छ। सो समूहले स्थानीयस्तरमा १० प्रतिशत निःशुल्क सेयर माग गर्दै धम्की दिइरहेको र यसले आयोजनाको नियमित सञ्चालनमा अवरोध सिर्जना गरेको उल्लेख गरिएको छ।
इप्पानले यी घटनालाई गम्भीर रुपमा लिएर सरकारसँग सुरक्षा र आवश्यक पहल गर्न माग गरेको छ। निजी र वैदेशिक लगानीको वातावरण सुरक्षित रहोस् र ऊर्जा क्षेत्रको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न इप्पानले सरकारसँग मागसमेत गरिसकेको छ।
