बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अविरल वर्षाले सडक र पुलमा ४ अर्ब ६२ करोड रूपैयाँबराबरको क्षति

बाढीपहिरो जानेक्रम जारी, क्षति अझै बढ्ने अनुमान

मंगलबार, असोज २१ २०८२
अविरल वर्षाले सडक र पुलमा ४ अर्ब ६२ करोड रूपैयाँबराबरको क्षति

बाढीपहिरो जानेक्रम जारी नै रहेकाले यो क्षति अझै बढ्ने अनुमान गरिएको छ। हालसम्म झन्डै २ सय स्थानमा क्षतिको विवरण संकलन गरिएको छ।

काठमाडौं- असोज १७, १८ र १९ गतेको अविरल वर्षाले देशभरका प्रमुख सडक तथा पुलमा व्यापक क्षति पुर्‍याएको छ। सडक तथा पुल विभागका अनुसार विभिन्न खण्डमा संरचनागत बिग्रिएको र यातायातमा अवरोध सिर्जना भएको छ।

विभागले संकलन गरेको प्रारम्भिक विवरणअनुसार करिब ४ अर्ब ६२ करोड रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। यसमध्ये सडकतर्फ ४ अर्ब ३४ करोड र पुलतर्फ २८ करोड रूपैयाँभन्दा बढीको क्षति भएको छ। बाढी तथा पहिरो जानेक्रम जारी नै रहेकाले यो क्षति अझै बढ्ने अनुमान गरिएको छ। हालसम्म झन्डै २ सय स्थानमा क्षतिको विवरण संकलन गरिएको छ।

पृथ्वी राजमार्गको दमौली-आँबुखैरनी खण्डमा संरचनागत क्षति २५ मिटर क्षेत्रमा पुगेको छ र यसको मर्मतमा अनुमानित लागत १५ लाख रूपैयाँ पर्ने विभागले जनाएको छ। भक्तपुरको अरनिको राजमार्ग धुलिखेल-वनदेउ खण्डका विभिन्न खण्डमा ४० देखि १२० मिटर सडक क्षतिग्रस्त भएको छ।

पाल्पाको सिद्धार्थ राजमार्ग दोभान-राम्दी खण्डमा चिचारे, भूट खोला र चार्चरेमा ४५ देखि १०० मिटर सडकमा क्षति पुगेको छ र यसका लागि अनुमानित मर्मत लागत ५ करोड रूपैयाँ तोकिएको छ।

गुल्मीको मदन भण्डारी राजमार्ग भेडुवा-तम्घास खण्डमा गौडाकोट र चापामा २० देखि ६० मिटर सडक क्षतिग्रस्त भएको छ, जसको मर्मतमा १२ लाख ५० हजार रूपैयाँ आवश्यक रहेको विभागले जनाएको छ।

पोखरा-बागलुङ राजमार्गका विभिन्न खण्डमा १०० देखि ३०० मिटर सडक क्षतिग्रस्त भएको छ। सेतीदोभान-वेजाङ-पञ्चमूल-आरुचौर सडक खण्डमा ५०० मिटर सडक बगेर नष्ट भएको छ। पोखराको सेती नदी पुल, जुन ६० मिटर लामो स्टिल ट्रस पुलमा संरचनागत क्षति पुगेको छ र यसको मर्मतमा अनुमानित १२ करोड रूपैयाँ आवश्यक रहेको छ।

गल्छी-त्रिशुली-रसुवागढी सडक परियोजनामा करिब १५०० मिटर सडक बगेर नष्ट भएको छ। भक्तपुर-धुलिखेल खण्डको बीपी राजमार्गमा बार्खे खोला क्षेत्रमा ८० देखि ४०० मिटर सडक बगेर नष्ट भएको विभागले जनाएको छ। यातायातमा थप अवरोध नआओस् विभागले मर्मत र पुनर्निर्माणको काम गरिरहेको जनाएको छ।


प्रकाशित : मंगलबार, असोज २१ २०८२१७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend