काठमाडौं- लाङटाङ पदयात्राका लागि निस्केका करिब ३० जना विदेशी पर्यटक बेत्रावतीमा रोकिएका छन्। वर्षा थामिएसँगै बाटो अनुकूल भएको जानकारी पाएपछि यात्रा सुरु गरेका उनीहरुलाई बीचबाटोमै रोकिएको हो।
पर्यटन व्यवसायी राजेन्द्र सापकोटाका अनुसार बिहान सम्पर्क गर्दा बाटो सामान्य रहेको जानकारी प्राप्त भएपछि पर्यटकहरू लाङटाङ प्रवेशको आशाले हिँडेका थिए। तर हाल स्थानीय सवारीसाधनलाई मात्र आवागमनको अनुमति दिइए पनि पर्यटक बोकेका सवारीसाधनहरूलाई रोकिएको उनले बताए।
‘पर्यटकीय सिजनको समयमा यसरी विदेशी पर्यटकलाई रोक्नु अत्यन्तै अनुपयुक्त र नकारात्मक सन्देश दिने कार्य हो,’ सापकोटाले भने।
उनले सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराउँदै पर्यटन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेकी प्रधानमन्त्रीलाई मार्ग खुला गर्न आग्रह गरेका छन्।
यसरी बिनाकुनै कारण पर्यटकको यात्रा रोक्दा नेपालको पर्यटन छविमा नकारात्मक असर पार्नसक्ने उनको भनाइ छ।
