बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बाढी-पहिरोबाट ३२ जलविद्युत आयोजना प्रभावित, इलाममा मात्रै १६ आयोजनामा क्षति

निर्माणाधीन आयोजनाको धेरै क्षति पहुँचमार्गमा

सोमबार, असोज २० २०८२
बाढी-पहिरोबाट ३२ जलविद्युत आयोजना प्रभावित, इलाममा मात्रै १६ आयोजनामा क्षति

निर्माणाधीन अवस्थामा रहेका आयोजनामध्ये इलाममा रहेको १० मेगावाटको सिद्धिखोला जलविद्युत आयोजना १० दिनभित्र व्यवसायिक उत्पादनमा जाने तयारीमा रहेकोमा बाढीले क्षति पुर्‍याउँदा यसको विद्युत उत्पादन मिति पर सरेको छ।

काठमाडौं- पछिल्लो अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट ३ प्रदेशका १० जिल्लास्थित ३२ जलविद्युत आयोजना प्रभावित भएका छन्। यही असोज १७ देखि १९ गतेसम्मको भारी वर्षाका कारण ३२ जलविद्युत आयोजना प्रभावित भएका हुन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमबार दिउँसोसम्मको प्रारम्भिक तथ्यांकअनुसार असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन्।

विगतका वर्षहरुमा ठूलो मानवीय क्षतिसमेत हुँदै आएकोमा यस वर्ष भने पूर्वतयारीका कारण मानवीय क्षति रोक्न सफल भएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए। समयमै आवश्यक पूर्वतयारी गर्दा यसपटक जलविद्युत आयोजनाहरुमा पनि निकै कममात्र भौतिक क्षति भएको अध्यक्ष कार्कीको भनाइ छ। 

सञ्चालनमा रहेका १७ मध्ये १५ आयोजना इलामका

बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको कोशी प्रदेशको इलाम जिल्लामा जलविद्युत आयोजनाहरु पनि सबैभन्दा धेरै प्रभावित भएका छन्। इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत आयोजनाहरुको उत्पादन बन्द भएको छ।

jalabidhut aayojana chhyati - hydro1.jpg

जसमा ४.५ मेगावाटको माईखोला, ८ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको माईखोला (सानिमा माई), ७ मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई ए क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड रहेका छन्।

यस्तै, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ जलविद्युत आयोजना इलाम जिल्लाका रहेका छन्।

jalabidhut aayojana chhyati - hydro2.jpg

बाँकी दुई आयोजनामध्ये कोशी प्रदेशकै पाँचथर जिल्लामा रहेको १४.९ मेगावाटको हेवाखोला र बागमति प्रदेशमा रहेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना प्रभावित भएका छन्। हाल लिखुबाहेक सबै आयोजनाको उत्पादन बन्द रहेको छ। लिखु ४ को भने १ घण्टाभन्दा केही बढी समयमात्र उत्पादन बन्द भएको थियो।

निर्माणाधीन आयोजनाको धेरै क्षति पहुँचमार्गमा

निर्माणाधीन जलविद्युत आयोजनाहरुमा सबैभन्दा धेरै क्षति पहुँचमार्गमा देखिएको छ। मनाङमा रहेको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजनाले बनाएको १२ किलोमिटर पहुँचसडकको धेरै ठाउँमा पहिरो गएको प्रवर्द्धक कम्पनी लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिए। यही वर्षदेखि आयोजनाको निर्माण सुरु भएकाले पहुँच सडक सेट नभइसकेको अवस्थामा वर्षाले धेरै ठाउँमा बाटो बगाएको डाँगीले बताए।

jalabidhut aayojana chhyati - hydro3.jpg

निर्माणाधीन अवस्थामा रहेका आयोजनामध्ये सिद्धि हाइड्रोपावरद्वारा प्रवर्द्धित इलाममा रहेको १० मेगावाटको सिद्धिखोला जलविद्युत आयोजना १० दिनभित्र व्यवसायिक उत्पादनमा जाने तयारीमा रहेकोमा बाढीले क्षति पुर्‍याउँदा यसको विद्युत उत्पादन मिति पर सरेको छ।

पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनाको निर्माण सामाग्री र निर्माण उपकरणहरु नै बगाएको छ।

सिन्धुपाल्चोकमा रहेका ४ जलविद्युत आयोजनाको पहुँचमार्ग पनि बाढीले बगाएको छ। जसमा ३६.५१ मेगावाटको ब्रम्हायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी जलविद्युत आयोजनाको पहुँचमार्ग बाढीले बगाएको छ।

रसुवामा रहेको २० मेगावाटको लाङटाङ खोला, भोजपुरमा रहेको १५.५ मेगावाटको इर्खुवा खोला बी, १४.५ मेगावाटको माथिल्लो इर्खुवा, म्याग्दीमा रहेको २२.५ मेगावाटको माथिल्लो ठूलो खोला, लमजुङमा रहेको ६.८२ मेगावाटको हिडी खोला, रामेछापमा रहेको ४८.८ मेगावाटको खिम्ति २ र धादिङमा रहेको ४.५ मेगावाटको गसाली खोला जलविद्युत आयोजनाको पहुँचमार्ग लगायतका विभिन्न संरचनामा क्षति पुगेका कारण यी आयोजनाको विद्युत उत्पादन मिति पर सरेको छ।

सञ्चालनमा रहेका तथा निर्माणाधीन अवस्थाका आयोजनाहरुसम्म पुग्ने पहुँचमार्गहरु अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण आउन भने अझै केही समय लाग्न सक्ने इप्पानले जनाएको छ।


प्रकाशित : सोमबार, असोज २० २०८२१५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend