काठमाडौं- असोज १७ र १८ गते परेको अविरल वर्षाले मुलुकका विभिन्न जलविद्युत आयोजना प्रभावित गरेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढी, पहिरो तथा भीषण वर्षाका कारण १३ वटा सञ्चालनमा रहेका आयोजना बन्द भएका छन् भने निर्माणाधीन अवस्थामा रहेका ९३ मेगावाट क्षमताका ५ आयोजना क्षतिग्रस्त भएका छन्।
प्रभावित १८ आयोजनामध्ये १४ आयोजना इलाममा रहेका छन् भने बाँकी सिन्धुपाल्चोक र पाँचथर जिल्लामा छन्।
इलामका माइ खोला हाइड्रोपावर, माइ खोला क्यासकेड, सुपर माइ, सुपर माइ ए, जोगमाई खोला, जोगमाई क्यासकेड, तल्लो जोगमाई, माइबेनी हाइड्रोपावर, माथिल्लो माइ खोला र माइ सी क्यासकेडलगायतका आयोजना पूर्ण रूपमा बन्द भएका छन्।
त्यस्तै सिन्धुपाल्चोकका ब्रह्मायणी र अपर ब्रह्मायणी तथा पाँचथरका सभा खोला बी र हेवा खोला आयोजना क्षतिग्रस्त भएका छन्। यी आयोजना समयमै सञ्चालनमा ल्याउन नसकिने भएको इप्पानले जनाएको छ।
यसैगरी इलाममा निर्माणाधीन सिद्धि हाइड्रोपावरमा पनि क्षति पुगेको छ। आगामी १० दिनभित्र गर्ने लक्ष्य गरिएको यस आयोजनाको सीओडी अनिश्चित बनेको छ।
