बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

धौलागिरि हिमाल आरोहण सुरु

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १३ २०८२
धौलागिरि हिमाल आरोहण सुरु

छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो। अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ।

म्याग्दी- म्याग्दीस्थित विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ। धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा अवस्थित छ। 

सभेन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एक/एक जनाले आइतबार धौलागिरिको सफल आरोहण गरेका हुन्।

स्पेनका जर्ज इगोचेगा रोड्रिगेज, चीनका पिङ लु, फ्रान्सका क्याथरिन मार्सेल रोजा बरी, नेपालका पेमा नर्बु शेर्पा, तारमण तामाङ र पेम्बा टासी शेर्पाको टोलीले धौलागिरिको सफल आरोहण गरेका सेभन समिट टे«क्सका सञ्चालक मिङमा शेर्पाले जानकारी दिए। 

उनका अनुसार १४ शिखर अभियान र सात शिखर पदयात्राका शेर्पाहरुको संयुक्त टोलीले शुक्रबार धौलागिरिको चुचुरोसम्म बाटो खोलेका र शनिबार ‘रोप फिक्सिङ’ (डोरी टाँगेका) थिए। 

पर्यटन विभागका अनुसार शरदयाममा धौलागिरि आरोहणका लागि तीन वटा समूहका सात महिला र १७ पुरुषले अनुमति लिएका छन्। अनुमति लिएकाबाट ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ। 

गत वसन्तयाममा दुई वटा समूहका १५ जनाले आरोहण अनुमति लिएवापत ३६ लाख ९१ हजार दुई सय ६० राजस्व सङ्कलन भएको थियो। २०२४ को शरदयाममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीहरुले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो। 

छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो। अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ। सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गरको टोलीले पहिलो पटक धौलागिरि हिमालको सफल आरोहण गरेको थियो। रासस 


प्रकाशित : सोमबार, असोज १३ २०८२०८:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend