काठमाडौं- मुग्लिन–नारायणघाट सडकखण्डमा बारम्बार समस्या देखिन थालेपछि सरकारले नारायणी नदीपारि नयाँ सडक सञ्जल खन्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सडक निर्माणका लागि १५ मिटर दायाँबायाँ कायम गर्ने रेखांकन कार्य अघि बढाउने निर्णय गरेको छ।
केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका कुलमान घिसिङले पारीबाट नयाँ बाटो निर्माण आवश्यक भएको बताउँदै अध्ययन सुरु गरिएको जानकारी दिएका थिए।
सरकारका अनुसार, यस निर्णयले सडक अवरोध, पहिरो जोखिम र लामो समयदेखि प्रभावित हुँदै आएको यातायात व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ। सडक विभागलाई आवश्यक तयारी र पूर्वाधार निर्माण कार्य तीव्र गतिमा अघि बढाउन निर्देशन दिइएको छ।
चीन सरकारको अनुदान सहयोगमा सन् १९८२ मा निर्माण भएको नारायणघाट–मुग्लिन सडकखण्ड शुरूमा साढे पाँच मिटर चौडा थियो भने हाल ११ मिटर फराकिलो छ। सडक फराकिलो बनेसँगै पहिरोको जोखिम पनि बढेको सडक विभागले जनाएको छ।
सडकको कुल लम्बाइ ३६ किलोमीटर रहेको छ र हाल नियमित मर्मतसम्भार सडक डिभिजन कार्यालयले गर्दै आएको छ। यस मार्गमा १५ वटा पुल निर्माणाधीन छन्। तराई र पहाड छिचोल्ने प्रमुख सडक भएकाले यात्रुहरूले अझै ढुक्कसँग यात्रा गर्न सक्ने अवस्था बनेको छैन। यसैबीच, सरकारले नयाँ विकल्प अघि सारेको छ।
