काठमाडौं- नेपालकै पहिलो निजी लगानीमा निर्माण भएको भोटेकोशी जलविद्युत् आयोजना जेनजी आन्दोलनका कारण २० दिनदेखि पूर्णरूपमा ठप्प भएको छ। ४५ मेगावाट क्षमताको उक्त आयोजना गत भदौ २५ गतेदेखि बन्द भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विक्रमरत्न स्थापितले जानकारी दिए।
उनका अनुसार ‘जेनजी आन्दोलन’को नाममा एक समूहले आयोजना परिसरमै पुगेर १० प्रतिशत निःशुल्क सेयर दिनुपर्ने माग गर्दै धम्की दिएपछि कर्मचारीहरू त्रसित भएर भागेका थिए। नेपाली सेनाले सुरक्षाको व्यवस्था गरे पनि उत्पादन भने रोकिएको उनले बताए।
स्थापितका अनुसार निःशुल्क सेयर दिने माग कानूनमै नभएको विषय हो। त्यस्तो माग पूरा गर्न नसकिने उनले बताए। कम्पनीका अनुसार धम्कीपछि स्थानीय प्रशासन र सुरक्षाकर्मी उपस्थित भए पनि समूह अझै आसपासमै रहेकाले कर्मचारी फर्कन सकेका छैनन्।
ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याललाई जानकारी गराइसकिए पनि अहिलेसम्म ठोस पहल भएको छैन।

भोटेकोशी आयोजना निर्माणको समयमा प्रभावित स्थानीयलाई सेयर दिने कानूनी व्यवस्था थिएन। पछि स्थानीयले ६ प्रतिशत सेयर माग गर्दै दबाब दिँदै आएका थिए। यसका लागि २०७१ सालमा सर्वदलीय समिति मार्फत सम्झौता समेत भइसकेकाे छ।
यसैबीच, अहिले जेनजी आन्दोलनको नाममा अराजक समूहले नयाँ माग उठाएको कम्पनीले जनाएको छ। ‘करोडौँ घाटा लागिसकेको छ। छिटो समाधान होस् भनेर पलह गरिरहेका छौँ,’ सीईओ स्थापितले भने।
यो आयोजना प्रत्यक्ष वैदेशिक लगानीमार्फत प्रवर्द्धित भोटेकोशी पावर कम्पनी (बीकेपीसी) अन्तर्गत सञ्चालित हो। सन् १९९६ मा अमेरिकी प्रत्यक्ष वैदेशिक लगानीसहित दर्ता भएको बीकेपीसी नेपालकै पहिलो स्वतन्त्र विद्युत् उत्पादक हो।
सन् २००१ जनवरीदेखि व्यावसायिक उत्पादन सुरु गरेको यस आयोजनामा सुरुमा अमेरिकी पाण्डा इनर्जी प्रमुख लगानीकर्ता थियो। तर सन् २००६ मा उसले हिस्सा बिक्री गरेपछि हाल ९५ प्रतिशत स्वामित्व नेपाली लगानीकर्ताको र बाँकी ५ प्रतिशतमात्र अमेरिकी कम्पनीको हातमा छ।
आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २५ वर्षे विद्युत् खरिद सम्झौता गरेको छ भने ४० वर्षे लाइसेन्स अवधि समाप्त भएपछि आयोजना पूर्ण रूपमा नेपाल सरकारलाई हस्तान्तरण हुने व्यवस्था छ।
कम्पनीले प्राधिकरणसँग अतिरिक्त विद्युत् बिक्रीका लागि पूरक विद्युत् खरिद सम्झौता गरेको छ, जसअन्तर्गत विद्युत् मूल्य प्रतियुनिट (किलोवाट घण्टा) १ रुपैयाँ ६२ पैसा ५६ पैसा तोकिएको छ, जुन नेपालकै सबैभन्दा सस्तो दरमध्ये एक हो।
भोटेकोशी आयोजना सन् २०१५ को गोरखा भूकम्प र त्यसपछिका परकम्पबाट क्षतिग्रस्त भएको थियो। त्यसमाथि सन् २०१६ मा आएको भीषण जीएलओएफ (ग्लेसियल लेक आउटबर्स्ट फ्लड) ले थप क्षति पुर्याएको थियो। ठूलो पुनर्निर्माण र संरक्षण संरचना निर्माणपछि आयोजनाले सन् २०१९ डिसेम्बरदेखि पुनः उत्पादन सुरु गरेको हो।
अमेरिकी लगानीबाट सुरु भएर अहिले नेपाली व्यवसायिक समूहको स्वामित्वमा रहेको भोटेकोशी आयोजना पुनः विवादका कारण ठप्प हुँदा लगानी वातावरणमै प्रश्न उठेको छ। संसारमै नभएको निःशुल्क सेयरको माग राखेर आयोजना रोक्नु नेपालमा लगानीकर्ताका लागि ठूलो नकारात्मक सन्देश भएको लगानीकर्ताले बताउँदै आएका छन्।
कम्पनी हाल नेपालको प्रतिष्ठित व्यवसायिक घरानामध्ये एकको स्वामित्व र व्यवस्थापनमा छ। बोर्ड तथा कार्यकारी नेतृत्वमा अनुभवी व्यक्तित्वहरू संलग्न छन्। सिप्रदी समूहका अध्यक्ष सिद्धार्थ शमशेर राणा यसको कार्यकारी अध्यक्ष छन्।
