कञ्चनपुर- जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ।
नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि वनस्पतिसम्म पाइन्छ। प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे पर्याप्त जानकारी नहुँदा स्वदेशी तथा विदेशी पर्यटक यहाँ पुग्न सकेका छैनन्।
शुक्लाफाँटा निकुञ्ज कार्यालयको तथ्यांकअनुसार निकुञ्ज अवलोकन गर्ने पर्यटकको सङ्ख्या न्यून छन्। कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १२ हजार १३८ जनाले निकुञ्ज भ्रमण गरेका थिए। जसमा तीनसय आठ जना विदेशी पर्यटक र तीनसय ५० जना सार्क मुलुकका पर्यटकले भ्रमण गरेका थिए भने ११ हजार ४८० जना नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले कोरोना महामारीअघिसम्म शुक्लाफाँटा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उलेख्य रहे पनि महामारीपछि यहाँ पर्यटक आउन छाडेको बताए।
'कोरोना महामारी सुरु हुनुभन्दा अल्लिो वर्षसम्म आन्तरिक तथा विदेशी पर्यटकले यहाँ भ्रमण गरेको पाइन्छ', उनले भने, 'महामारीपछि विदेशी पर्यटक त शून्यजस्तै त आन्तरिक पर्यटकको सङ्ख्यासमेत न्यून रहेको छ।' उनले पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा समेत कमी आएको बताए।
कार्यालयको तथ्यांकअनुसार आर्व २०७६/७७ मा एक हजार ६०३ जनाले निकुञ्ज भ्रमण गरेका छन्। आव २०७७/७८ मा दुई हजार ९२७ जनाले निकुञ्ज भ्रमण गरेको देखिन्छ। त्यसैगरी, आव २०७८/७९ मा दुई हजार ५७९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। जसमा सार्क मुलुकका ४५ जना र एकसय पाँच जना विदेशीले निकुञ्ज भ्रमण गरेका छन्। आव २०७९/८० मा तीन हजार २७८ जनाले निकुञ्ज भ्रमण गरेका छन्। जसमा एकसय ५८ जना विदेशी र एकसय २१ जना सार्क मुलुकका छन्।
त्यसैगरी, आव २०८०/८१ मा तीन हजार ७६२ जना पर्यटकले शुक्लाफाँटा भ्रमण गरेका छन्। जसमा एकसय ३२ विदेशी र एकसय १२ सार्क मुलुकका पर्यटकले निकुञ्ज अवलोकन गरेका छन्। आव २०८१/८२ मा तीन हजार ३७१ जनाले निकुञ्ज भ्रमण गरेका छन्। जसमा एकसय ९९ विदेशी र एकसय ५२ सार्क मुलुकका पर्यटक छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण रहे पनि विभिन्न समस्याका कारण यहाँ उलेख्य रूपमा पर्यटक आउन नसकेको वाग्लेको भनाइ छ। 'पर्यटकीय पूर्वाधारमा कमी, नेपाल-भारत सीमामा पर्यटकका लागि असहजता र प्रचारप्रसारको अभावले यहाँ पर्यटक बढ्न सकेका छैनन्', उनी भन्छन्, 'यहाँ पर्यटकका लागि सुविधा पनि सीमित मात्रामा छन्, जंगल सफारीबाहेक अन्य गतिविधि नहुँदा पनि यहाँ पर्यटकको सङ्ख्यामा कमी आएको हो।' उनले यहाँ निजी क्षेत्रबाट समेत लगानी हुन नसकेको बताए।
नजिकै रहेको गड्डाचौकी नाकाबाट नेपाल आएका विदेशी पर्यटकसमेत यहाँ बस्दैनन्। अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढे पनि यो नाकाबाट आउने पर्यटक पनि अन्यत्र जाने गरेका छन्।
अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत नवराज भट्टले गड्डाचौकी नाकाबाट आउने ८० प्रतिशत विदेशी पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न जाने गरेको बताए। 'यो नाका भएर आएका विदेशी पर्यटक पनि बर्दिया, चितवनका पर्यटकीय गन्तव्यमा जाने गरेका छन्', उनले भने, 'यहाँको शुक्लाफाँटा वन्यजन्तु र वनस्पतिका लागि प्रसिद्ध भए पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ।'
अध्यागमन कार्यालयका अनुसार २०२३ मा गड्डाचौकी नाका भएर नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। सन् २०२४ मा एक हजार १५४ जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएका छन्। सन् २०२५ को हालसम्म एक हजार १४८ विदेशी पर्यटक नेपाल आएका छन्।
सरकारको प्राथमिकतामा नपर्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार हुन नसकेको यहाँका स्थानीय व्यवसायी बताउँछन्। 'यहाँ पर्यटनका थुप्रै सम्भावना भए पनि सरकारको प्राथमिकतामा पर्न सकेको छैन', स्थानीय जगदीश भट्टले भने, 'शुक्लाफाँटा पर्यटकका लागि उत्तम गन्तव्य हो, यसको प्रचारप्रसार र पर्यटनका पूर्वाधार विकास गर्नु जरुरी छ।'
शान्त वातावरण, ठूलो घाँसेमैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने भए पनि यहाँ पर्यटकका लागि पूर्वाधार निमार्ण नहुँदा यहाँसम्म पर्यटक पुग्न नसकेको पर्यटन व्यवसायीहरू बताउँछन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ। वन्यजन्तुमात्र नभई दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ। निकुञ्जमा ५६ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, एकसय ११ प्रजातिका पुतली, चार सय ६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्ज कार्यालयले जनाएको छ।
विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिमतित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन्। जसमा पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बदेल आदि रहेका छन्। तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ। निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन्। रासस


