बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा सास्ती भोग्दै यात्रु

शनिबार, असोज ११ २०८२
तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा सास्ती भोग्दै यात्रु

साँवा खोलाबाहेक अन्यत्र कुनै पनि खोलामा पुल निर्माण हुन सकेको छैन। पुल नहुँदा वर्षायाममा अचानक आउने बाढीका कारण सवारीका साधन गन्तव्यमा पुग्न नपाइ बीचमै रोकिने गरेका छन्।

पाँचथर- तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन्। खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन्।

पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीसाधन सञ्चालन हुन थालेको लामो समय भइसकेको छ। एकसय १० किलोमिटर सडकमध्ये हालसम्म ५४ किलोमिटर कालोपत्र नै भइसकेको छ।

तर यस सडकमा पर्ने साँवा खोलाबाहेक अन्यत्र कुनै पनि खोलामा पुल निर्माण हुन सकेको छैन। पुल नहुँदा वर्षायाममा अचानक आउने बाढीका कारण सवारीका साधन गन्तव्यमा पुग्न नपाइ बीचमै रोकिने गरेका छन्।

तमोर कोरिडोर सडकको मुलघाट गणेशचोक खण्डको सबैभन्दा उत्तरमा पर्ने हेवा खोलामा पुल निर्माणका लागि डिजाइन मात्रै बनेको छ। हेवा खोलामा पुल तथा डाइभर्सन नहुँदा फिदिमबाट छोटो दुरीमा जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका विभिन्न वडा तथा यो बाटो हुँदै ताप्लेजुङ जाने यात्रु मर्कामा परेका छन्। यहाँ ४० मिटर लामो पुल निर्माण गर्नुपर्ने डिजाइन बनेको छ।

बाढीले हेवा खोलामा कोरिडोरको करिब एक किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ। यहाँ सडकको मार्ग परिवर्तन गर्नुपर्ने भएकाले पुल निर्माणमा ढिलाइ भएको पुल सेक्टर कार्यालय धरानका प्रमुख सीडीई दीपक झाले जानकारी दिए।

तमोर कोरिडोरमा पर्ने बघुवा खोला पुलको ठेक्का स्वामीनारायाण आशीर्वाद जेभीले लिएको छ। जसको अवधि आगामी बैशाख २९ मा सकिने भए पनि काम नै सुरु हुन सकेको छैन। जसको लम्बाइ ४० मिटर रहेको छ।

स्वामीनारायाण आशीर्वाद जेभीले नै ठेक्का लिएको खम्बुवा खोला पुलमा भने ४० प्रतिशत भौतिक प्रगति देखिएको छ। यहाँ ३८ प्रतिशत वित्तीय प्रगति भएको पुल सेक्टर कार्यालय धरानले जनाएको छ। यस पुलको लम्बाइ पनि ४० मिटर नै रहेको छ।

सोही निर्माण कम्पनीले ठेक्का लिएको रघुवा खोला पुलमा १५ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख झाले जानकारी दिए। उनका अनुसार यस पुल निर्माणको ठेक्काको अवधि पनि आगामी बैशाख २९ गतेसम्म रहेको छ। यस पुलको लम्बाइ १५० मिटर रहेको छ। बघुवा, खम्बुवा र रघुवा खोला पुलको कुल लागत २२ करोड ५२ लाख ७५ हजार ७९० रूपैयाँ रहेको छ।

यही असोज २७ गते म्याद समाप्त हुन लागेको छरुवा खोला पुल निर्माणमा हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छ भने ४७ प्रतिशत वित्तीय प्रगति भएको छ। यस कार्यको ठेक्का लुम्बिनी-रौताहा-खानी जेभीले लिएको छ। छरुवा खोला नामजस्तै धेरै भङ्गालो फाटिएको खोला हो। जसमा निर्माणाधीन पुलको लम्बाइ १६५ मिटर रहेको छ। जुन यस कोरिडोरमा निर्माण हुने सबैभन्दा लामो पुल भएको झाको भनाइ छ। यस पुल निर्माणको कुल लागत १७ करोड २३ लाख ७९ हजार ५४० रूपैयाँ रहेको छ।

पानीको मात्रा ठूलो भएका कारण यात्रुहरूलाई सधैँ दुःख दिइरहेको नावा खोलामा पुल निर्माणको हालसम्म भौतिक प्रगति ३० प्रतिशतमात्रै छ। शर्मा सगुन जेभीले ठेक्का लिएको यो पुल निर्माण सम्झौताको म्याद भने ०८३ साल फागुन १२ गतेसम्म छ। नावा खोलामा निर्माणाधीन पुलको लम्बाइ १५० मिटर रहेको छ। यहाँ पुलका पिल्लर निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

तर सोही कम्पनीले सोही समयभित्र सम्पन्न गर्ने गरी ठेक्का लिएका लखुवा खोला र लोरिपा खोलामा भने निर्माणको काम नै सुरु हुन सकेको छैन। लखुवा खोला पुलको लम्बाइ १५० मिटर र लोरिपा खोला पुलको लम्बाइ २० मिटर रहेको छ। लखुवा, लोरिपा र हेवा खोला पुलको कुल लागत ३७ करोड २१ लाख ५३ हजार ६४० रूपैयाँ रहेको पुल सेक्टर कार्यालयका प्रमुख झाले जानकारी दिए।

बजेट अभावका कारण आफूहरूले निर्माण व्यवसायीलाई दबाबमा राखेर काम लगाउन नसकेको झाको भनाइ छ। उनका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मै निर्माण व्यवसायीले पाउनुपर्ने करिब चार करोड रूपैयाँ रकम अझैसम्म निकासा हुन सकेको छैन। 'गत आवकै केही रकम हामीले निकासा दिन सकेका छैनौँ', कार्यालय प्रमुख झाले भने, 'रकमान्तर भएर बजेट थप गर्ने कुरा थियो। तर भनेअनुसार भएन।'

बजेट कम भएका कारण कार्यालयले ठेक्का परिचालन गर्ने बजेट उपलब्ध गराउन नसक्दा निर्माण व्यवसायीले काममा ढिलासुस्ती गरेका हुन्। तर यसको मार भने यात्रुले खेप्दै आएका छन्। विशेषत पाँचथर-धनकुटा सीमावर्ती नावा खोलामा चैतदेखि कात्तिकसम्म पानीको बहाव घटबढ हुने गर्दछ। जसकारण सवारीसाधनको नियमित आवागमन प्रभावित हुने गरेको छ।

तमोर कोरिडोर सडक योजना कार्यालयका सूचना अधिकारी जयराम अधिकारी सडक बाह्रै महिना सवारी सञ्चालनयोग्य भए पनि पुल निर्माण नहुँदा यात्रुहरूले समस्या भोग्नुपरेको बताउँछन्। 'सडक त बाह्रैमास सञ्चालन गर्न योग्य भएको छ। अब पुल निर्माणमा ढिलाइ हुनुभएन', अधिकारीले भने। रासस


प्रकाशित : शनिबार, असोज ११ २०८२१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend