काठमाडौं- देशका २८ वटा कारागार र ९ वटा सुधारगृहबाट भागेका १४ हजार ५ सय ४९ कैदीबन्दीमध्ये हालसम्म ८ हजार ५४ जना कारागारमा फर्किएका छन्।
फर्किएकामा कारागारबाट भागेका ७ हजार ७ सय १३ र सुधारगृहबाट भागेका ३ सय ४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो। उनका अनुसार अझै ६ हजार ४ सय ९४ कैदीबन्दी फरार छन्।
फरार हुनेमा कारागारबाट भागेका ५ हजार ८ सय ७२ र सुधारगृहबाट भागेका ६ सय २२ जना रहेका छन्। उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताए।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५ सय ८५ र सुधारगृहबाट ९ सय ६४ कैदीबन्दी भागेका थिए। यसबीचमा १० कैदीबन्दीको भने मृत्यु भएको छ। कुल ३० हजार ६ सय ४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४ सय ४६ जना रहेका छन्। रासस