काठमाडौं- मुग्लिन-नारायणघाट सडकखण्डको तुइनखोला क्षेत्रमा खसेको ठूलो पहिरो पन्छाएर सवारी सञ्चालन पुनः सुरु गरिएको छ। सडक विभागले भारी मेसिनरी र प्राविधिक टोली परिचालन गर्दै पहिरो हटाउने काम तीव्र गतिमा सम्पन्न गरेको थियो।
सडक खुलेसँगै राजधानीतर्फ र तराईतर्फ आवतजावत गर्ने यात्रु र मालसामानको ढुवानीमा सहजता आउने छ। दसैंको अवसरमा घर जाने यात्रुका लागि सहज बनाउने छ।
सडक विभागका अनुसार, जोखिमयुक्त भू–भागमा नियमित निगरानी र आवश्यक सुरक्षा उपाय लागू गर्दै यातायात व्यवस्थित गर्न कार्य भइरहेको छ। यससँगै बारम्बार अवरुद्ध हुने यो खण्डमा सवारी अब अस्थायी रूपमा सहजतापूर्वक सञ्चालन हुने विश्वास व्यक्त गरिएको छ।
सडक डिभिजन भरतपुरका अनुसार बिहीबार बिहानैदेखि पहिरो पन्छाउने काम जारी थियो। दिउँसो साढे २ बजेसम्म काम ६० प्रतिशत सम्पन्न भएको थियो। विभागले रातिसम्म पहिरो हटाएर सडक खोल्न सकिने अनुमान गरेको थियो।
चेतावनीपूर्ण भू–भाग भएकाले तुइनखोलास्थित सडक साँघुरो छ। नारायणघाटतर्फबाट एउटा एक्साभेटर र एउटा लोडर, मुग्लिनतर्फबाट दुईवटा लोडर र एउटा एक्साभेटर प्रयोग गरी निरन्तर काम गरिएको थियो। दुवैतर्फ एउटा–एउटा ब्याक हो लोडर तैनाथ राखेर सीमित स्थानमा काम गर्न सकिने अवस्था सिर्जना गरिएको थियो।
पहिरो पन्छाउने क्रममा नारायणघाटतर्फका ठूला ढुंगाले काममा कठिनाइ थपेका थिए। साना तिखा ढुंगाले टायर पंचर हुने र अपरेटरलाई चोट लाग्ने जोखिम समेत रहेकोले सोचेअनुसार प्रगति हुन सकेको थिएन। यसैबीच, हेभि इक्विपमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट दुईजना अपरेटर थप गरिएको थियो।
सडक विभागले आवश्यक सतर्कता अपनाउँदै यातायात व्यवस्थित गर्ने र जोखिमयुक्त क्षेत्रमा नियमित निगरानी जारी राख्ने जनाएको छ।