शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना, सहयोगका लागि मन्त्री घिसिङको आह्वान

बिहीबार , असोज ९ २०८२
‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना, सहयोगका लागि मन्त्री घिसिङको आह्वान

मन्त्री कुलमान घिसिङले राष्ट्र पुनर्निर्माणको अभियानमा साथ दिन आह्वान गर्दै कोषमा संकलित रकम पारदर्शी रूपमा खर्च गरिने प्रतिबद्धतासमेत व्यक्त गरे।

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाका पुनर्निर्माणको अभियानमा सबैलाई साथ दिन आह्वान गरेका छन्।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जेनजी आन्दोलनका क्रममा प्रभावित भौतिक संरचनाको पुनर्निर्माण, राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरिएकोे जानकारी गराए।

मन्त्री घिसिङले कोषमा सरकार, प्रदेश सरकार एवम् स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको अभियानमा सहभागी हुन अनुरोध गरेका हुन्।

उनले भने, 'भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भइ ठूलो धनजन क्षति भएको भन्दै भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतलगायतका कार्यका लागि कोष स्थापना गरेका छौँ।'

सरकारले यसका लागि भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन गरेको छ। समितिले विश्व समुदायसमक्ष ‘कल फोर ग्लोबल सपोर्टः अर्जेन्ट अपिल फोर द रिस्टोरेसन एन्ड रिकन्सट्रक्सन अफ नेपालस् पब्लिक एसेट्स’ अनुरोधसहित सहयोगका लागि आह्वान गरेको छ।

मन्त्री घिसिङले राष्ट्र पुनर्निर्माणको अभियानमा साथ दिन आह्वान गर्दै कोषमा संकलित रकम पारदर्शी रूपमा खर्च गरिने प्रतिबद्धतासमेत व्यक्त गरे। कोषमा योगदान रकम जम्मा गर्ने बैंक खाताको विवरणमा राष्ट्रिय वाणिज्य बैंकको खाता नं १९६०१००१०२०७०००४ रहेको छ भने स्वीफ्ट कोड ‘आरबीबीएएनकेए’ रहेको छ। रासस


प्रकाशित : बिहीबार , असोज ९ २०८२१५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend