जनकपुरधाम- धनुषाका जिल्लाका १८ पालिकाको खाता सञ्चालनमा नआउँदा आर्थिक कारोबार ठप्प भएको छ। यसबाट विशेष गरेर कर्मचारी समस्यामा परेका छन्।
कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लाका एक उपमहानगरपालिका, ११ नगरपालिका तथा ६ गाउँपालिकाको खाता सञ्चालनमा नआएको हो। चालु आर्थिक वर्ष बितेको दुई महिना भए पनि स्थानीय तहको खाता नखुल्दा कर्मचारीले तलब सुविधादेखि विकास निमार्णको कार्यसमेत ठप्प भएको छ।
साथै बजेट खर्चसम्बन्धी आर्थिक कारोबार नभएको सो कार्यालयले जनाएको छ। स्थानीय तहको खाता सञ्चालनका लागि नगरसभा वा गाउँसभा सम्पन्न गर्नुपर्ने, आर्थिक र विनियोजन विधेयक पारित गर्नुपर्ने, चालु वर्षको बजेट पारित गर्नुपर्ने तथा अघिल्लो वर्षको खर्चको हिसाब बुझाएर मात्र खाता मिलाउनुपर्नै कानूनी प्रावधान रहेको सो कार्यालयले जनाएको छ।
धनुषाका अधिकांश स्थानीय पालिकाले ती प्रक्रिया पूरा नगरेकोले खाता बन्द रहेको छ। सो कार्यालयका अनुसारले १८ पालिकामध्ये १० पालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत सम्बन्धित निकायमा पेस नगरेको बताइएको छ।
खाता सञ्चालनमा नआउँदा स्थानीय विकास निमार्णका योजना सञ्चालन गर्न समेत समस्या भएको बताइएको छ। रासस